अध्यागमन विभागले नेपाल भ्रमणमा आउने सबै विदेशीको भ्रमण र आवासको तथ्यांक राख्ने भएको छ । फरेन नेसनल्स म्यानेज्मेन्ट इन्फर्मेसन सिस्टम (एफएनएमआइएस) बनाएर विभागले आउँदो मार्चबाट देशैभर यस्तो तथ्यांक राख्ने भएको हो । काठमाडौंका तारे होटलहरुमा जनवरी १ बाटै यो प्रावधान लागू भइसकेको छ ।
यसबारे विभागले राजधानी बाहिर पहिलो पटक पोखरामा अन्तक्र्रिया आयोजना ग¥यो । एफएनएमआइएसमा हरेक विदेशीको व्यक्तिगत विवरण दर्ता गर्नुपर्छ । यो विवरण भर्न राहदानी अनिवार्य भएकाले भारतीय पर्यटक भने यसमा समेटिने छैनन् । विदेशी नेपाल आएपछिका होटलका चेक इन, चेक आउट, विमानस्थल प्रवेश र प्रस्थान जस्ता विवरण यसमा समेटिने छन् । अध्यागमनले बनाएको एपमार्फत् पर्यटकले आफैं पनि विवरण भर्न सक्ने व्यवस्था गरिँदै छ ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले यो प्रणाली लागू हुँदा नेपालको अध्यागमनमा नयाँ अध्याय सुरु हुने दाबी गरे । ‘काठमाडौंका तारे होटलबाट सुरु गरेका हौँ, अब देशैभर लागू गर्छाैं,’ तिवारीले भने, ‘विस्तारै होमस्टेसम्म पु¥याउने लक्ष्य छ ।’ पर्यटकको सुरक्षा, राष्ट्रिय सुरक्षा र पर्यटन प्रवर्धनका लागि पनि यस्तो प्रणाली जरुरी भएको महानिर्देशक तिवारीले बताए ।
पर्यटकका अरु व्यक्तिगत विवरण नखोजिने र भएका विवरण पनि सार्वजनिक नहुने भएकाले यसबाट आत्तिनुनपर्ने उनको भनाइ छ । १ हजार ५ सयभन्दा बढी सेवाप्रदायकहरु यसमा आवद्ध भइसकेका छन् । ‘एफएनएमआइएसले पर्यटकको वास्तविक तथ्यांक प्रस्तुत गरी हामीलाई नीति निर्माणमा पनि सघाउँछ,’ तिवारीले भने, ‘केही विपद् आइपरे को कहाँ थियो भन्ने पत्ता लगाउन पनि सहज हुन्छ ।’
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अध्यागमन विभागका अधिृकत पवन गुप्ता र कम्प्युटर अधिकृत सन्तोष शाहले एफएनएमआइएसमा आवद्ध हुने विधि प्रदर्शन गरेका छन् ।
कार्यक्रममा अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत नरहरी घिमिरे, गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका उपसचिव महराज ढकाल, लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारी, होटल एशोसिएसन अफ नेपाल गण्डकी प्रदेशका अध्यक्ष हरि शर्मा गैरे, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समिति महासचिव जमुना शर्मा लगायतले बोलेका थिए ।




