रेन्बो एकेडेमिक होम्स मावि पोखरा १५ को ३० औं वाषिर्कोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम भएको छ । बुधबार प्रि नर्सरीदेखि ३ कक्षासम्म र बिहीबार ४–१२ कक्षासम्म गरी २ दिने कार्यक्रम भएको हो ।
कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा ईन्द्रप्रसाद तिवारीले स्मार्ट बन्न र स्मार्ट जीवनयापन गर्न विद्यार्थी जीवनबाट नै असल संस्कार र आदत विकास गर्नुपर्ने बताए । यो समय प्रविधिको भएकाले प्रयोगात्मक शिक्षमा जोड दिँदै अन्तर्राष्ट्रिय मापदण्ड समेटेर जुनसुकै देश र परिवेशमा घुलमिल हुन सक्ने दक्ष जनशक्ति निर्माण गर्नु विद्यालय र शिक्षक जिम्मेवारी भएको उनको भनाइ छ ।
शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका लोकनाथ आचार्यले सक्षम विद्यार्थी बनाउन विद्यालय र शिक्षकसँगै घरमा अभिभावकको उत्तिकै भूमिका हुने उल्लेख गरे । ‘व्यस्त जीवनबाट छोराछोरीका लागि समय निकाल्नुपर्छ, बाआमाले गर्भास्थादेखि नै राम्रो वातावरण नबनाई शिशुको शैक्षिक सर्वांगीण विकास राम्रो हुन सम्भव छैन,’ उनले भने ।
विद्यालयका प्राचार्य बाबुराम बरालले विद्यालय गतिविधिसँग भावी योजना पेश गरे । उनले विद्यार्थीको उज्ज्वल भविष्यका लागि महानगर, शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय इकाई एवं अभिभावकको मार्गनिर्देशन अनुसार अगाडि बढ्ने प्रतिज्ञा पनि जनाए ।
प्याब्सन कास्की अध्यक्ष षडानन्द गौतमले शिक्षा बिग्रे, संस्कृति बिग्रिने र संस्कृति बिग्रे देश बिग्रिने विचार राखे । उनले विद्यार्थीलाई प्रयास गरे जितिन्छ नभए सिकिन्छ भन्ने भाव जागृत गराउनुपर्ने जनाए ।
विद्यालयले २०८१ को एसइईमा जिपिए ४ ल्याउने विद्यार्थी सुरज भुजेललाई १ लाख र कक्षा ८ को परीक्षामा जिपिए ४ ल्याउने स्वीकृति भण्डारीलाई १० हजार, दोसल्ला र प्रमाणपत्र प्रदान गरेको छ । कार्यक्रममा प्राचार्य बरालले आगामी वर्ष पनि यस्तो नजिता ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिने जनाए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशीलराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीले विभिन्न कला प्रस्तुत गरेका थिए । विद्यालयले दीर्घसेवा सम्मान स्वरुप १० वर्ष निरन्तर सेवा गर्ने शिक्षक र कर्मचारीहरु जीवन बटाजू, सन्तोष गुरुङ, हेमा पुन, तनाज गुरुङ, शिला पुरी, करिष्मा गुरुङ, अमृता थापा र टीका पाल्पालीलाई सम्मान गरेको छ ।
विभिन्न मापदण्ड पूरा गरी विद्यालय अफ इएर स्वीकृति भण्डारी घोषित भएकी छन् भने रेन्बो अवार्ड अनमोल, स्वाइन, रायान ढकाल, प्रेक्षा भण्डारी र प्रिन्सिका गुरुङले पाएका छन् । पूर्व विद्यार्थी सबिन गुरुङ स्मृति र विद्यालय संस्थापक होमविक्रम तथा विजया मल्ल अक्षयकोष अवार्डबाट जेहेन्दार एवं उत्कृष्ट विद्यार्थी आरुष चापागाईं, माइलिन थापा, आयुष विक र सोफिया गुरुङले पाएका छन् ।
कार्यक्रममा कृष्णप्रसाद ढकाल, कृष्ण भण्डारी, धनराज पुरी, तोरण बाँनिया, दिवाकर जैसी, स्वीकृति भण्डारी, बद्री सुवेदी, सेल्भन क्षेत्री, प्रसिद्धि सारु लगायतले बोलेका थिए । कार्यक्रममा अथितिहरुलाई विद्यार्थीद्वारा नै निर्माण गरिएका चित्रहरू मायाको चिनो दिइएको थियो ।
वार्षिकोत्सवको सन्दर्भमा रक्तदानसमेत आयोजना गरेको स्कुलले शुक्रबार सरस्वती पूजाका दिन अक्षराम्भ कार्यक्रम गर्दै छ । शुक्रबार आउने विद्यार्थीलाई निशुल्क भर्ना गरिने विद्यालयले जनाएको छ ।




