जुनियर रेडक्रस सर्कल रेन्बो एकेडेमिक होम्सले मंगलबार आयोजना गरेको खुला रक्तदानमा १ सय ३३ पिन्ट रगत संकलन भएको छ । विद्यालयको ३० औं वाषिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रमको पूर्वसन्ध्यामा रक्तदान भएको हो ।
पोखरा १५ का पूर्व वडाध्यक्ष एवं रेडक्रसक्रर्मी प्रकाश पौडेललाई ब्लडब्याग हस्तान्तरण गरी नेपाल रेडक्रस सोसाइटी कास्की सभापति उर्मिला खड्काले रक्तदान सुरुआत गरिन् । सभापति खड्काले रगत अभावलाई पूर्ति गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताइन् । उनले हरेक ३ महिना खेर जाने रगत दान गरी मानवताको कर्तव्य निर्वाह गर्नसमेत आग्रह गरिन् ।
सर्कलका संरक्षक एवं विद्यालयका प्राचार्य बाबुराम बरालले विद्यालयले पहिलो पटक विद्यार्थी, सहकर्मी र अभिभावकलाई यस्तो पवित्र कार्यक्रममा सहभागी गराउन पाएको जनाए । उनले आगामी दिनमा वार्षिक रुपमा रक्तदान आयोजना गर्ने योजना सुनाए ।
सर्कलका सभापति विश्वास रानाले भविष्यमा रेडक्रससँग जोडिएर मानवसेवामा लाग्न प्रेरणा दिएको उल्लेख गरे । रक्तसञ्चार अधिकृत महेन्द्र केसीले विद्यार्थीले गरेको कार्यक्रममा १ सय ३३ युनिट रगत संकलन हुनु उदाहरणीय भएको जनाए । कार्यक्रममा शिक्षक विद्यार्थी कर्मचारी अभिभावक एवम् प्रदेश प्रहरी तालिम केन्द्रका १० जवानले रक्तदान गरेका छन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका उपमन्त्री डिल्लीराम बराल, रेडक्रसकर्मीहरु कमलप्रसाद पौडेल, पार्वती कार्की, शिवबहादुर भण्डारी, खेम थापा, सर्कलका उपसभापति स्वीकृति भण्डारी, सञ्जिव कुँवर लगायतले बोलेका थिए । रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा स्कुलले गरेको रक्तदानमा उत्साहजनक सहभागिता भएको कार्यक्रम संयोजक एवं जुनियर रेडक्रस सर्कलका शिक्षक नायक अनिषा बरालले बताइन् ।
पोखरा १५ मा अवस्थित रेन्बोमा प्रिनर्सरीदेखि कक्षा १२ कक्षासम्म पढाइ हुन्छ । विद्यालयमा १ हजार ५ सय विद्यार्थी र शिक्षक÷कर्मचारी गरी सय जना कार्यरत छन् ।




