निरुताका २ छोरा र १ छोरीले एकै पटक आमाको नामबाट नागरिकता पाए

जिल्ला प्रशासन कार्यालय कास्कीले आमाको नामबाट एकैपटक तीन जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । अन्नपूर्ण गाउँपालिका–८ की निरुता नेपालीका दुई छोरा सुजन र दिनेश तथा छोरी सुस्मिताले आइतबार नागरिकता पाएका हुन् ।

गत मङ्सिर १२ गते अन्नपूर्ण गाउँपालिकामा आयोजित स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहसम्बन्धी सचेतनामूलक अन्तरक्रियाका क्रममा निरुता नेपालीले आफ्ना सन्तानको जन्मदर्ता प्रमाणपत्र नपाएको गुनासो प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासमक्ष राखेकी थिइन् । त्यसपछि सम्बन्धित स्थानीय तहसँग समन्वय गर्दै जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा तीनै जनाको जन्मदर्ता प्रक्रिया पूरा गरिएको थियो ।

जन्मदर्ता सम्पन्न भएपछि आवश्यक प्रमाण र तथ्यको आधारमा आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । उनका अनुसार निरुताका श्रीमान् छोराछोरी र श्रीमतीलाई छाडेर लामो समयदेखि सम्पर्कविहीन रहेकाले बाबुको पहिचान खुल्ने कागजात पेश हुन सकेको थिएन, जसका कारण नागरिकता प्राप्तिमा समस्या देखिएको थियो ।

सम्बन्धित पक्षबाट बुझ्नुपर्ने विवरण र प्रमाण संकलन गरी कानुनी प्रक्रिया पूरा गरेपछि तीनै जनालाई आमाको नामबाट नागरिकता वितरण गरिएको प्रशासन कार्यालयले जनाएको छ ।