अखण्डबाट मन्त्री, कांग्रेसबाट प्रदेशमन्त्री, चुनावको मुखमा रास्वपा

नेपाली कांग्रेसको कारबाहीमा परेका पूर्वमन्त्री कुमार खड्काले निर्वाचनको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजेका छन् । रास्वपा गण्डकीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा रास्वपा उपसभापति स्वर्णीम वाग्ले लगायतका नेताले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

दोस्रो संविधानसभा निर्वाचनअघि आफ्नै नेतृत्वमा अखण्ड नेपाल पार्टी गठन गरेका खड्का समानुपातिक प्रणालीबाट सांसद बनेका थिए । त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । पछि अखण्ड नेपाल पार्टीलाई नेपाली कांग्रेसमा विलय गराएर उनी गण्डकी प्रदेशसभामा समानुपातिक सांसद बने ।

प्रदेशसभाको अघिल्लो कार्यकालमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा खड्काले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । २०७९ को निर्वाचनका बेला कास्की–२ (२) बाट टिकटको आकांक्षा राखे पनि कांग्रेसबाट टिकट नपाएपछि पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको अभियोगमा उनी कारबाहीमा परेका थिए । त्यसयता निष्क्रिय रहेका खड्काले वैकल्पिक शक्तिबाट मात्रै देश निर्माण सम्भव हुने निष्कर्षसहित रास्वपा रोजेको बताएका छन् ।

“परम्परागत शक्तिहरूबाट अब देशको विकास र समृद्धि सम्भव छैन,” उनले भने, “आज म रास्वपाको सबैभन्दा कनिष्ठ सदस्यका रूपमा यो अभियानमा समाहित भएको छु ।”

यसै कार्यक्रममा रास्वपामा प्रवेश गरेका अधिकारी नेकपा एमालेका स्थापित नेता हुन् । उनी रुपाकोट रिसोर्टका सञ्चालकसमेत हुन् । शनिबारै व्यवसायी मिलन थापाले पनि रास्वपा रोजेकी छन् । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाकी भाइबुहारी मिलन लायन्स क्लबकी पूर्व गभर्नरसमेत हुन् ।