बल्ल छोरो भ थियो कमाउनी
आइ बुहारी एटीएम समाउनी
रूपाले दुलहीको रूपमा भर्खरै आँगनमा टेकेकी थिइन् । नयाँँ घर, नयाँ जीवन, नयाँ माहोल । त्यति नै उनको जीवनमा पर्याप्त थिए । जुन पर्याप्ततामा आफूलाई छिचोल्न सक्छु कि सक्दिनँ भन्ने लागिरहेको थियो । जुन असहजततामा आफूलाई फुक्काफाल बनाउन सक्छु कि सक्दिनँ भन्ने लागिरहेको थियो । यो टुक्काले उनलाई झन घेराबन्दी भएको महसुस भयो ।
क्षणपश्चात नन्दले बाटो छेकिन् । सासूले भित्र लगिन् । केही समयसम्म्म मुख देखाउने परम्परा चल्यो । अनि खानपान अनि सुत्ने तरखर ।
विवाह लभपछिको एरेन्ज थियो । उनी ५ वर्षदेखि रमेशको प्रेममा थिइन् । पढाइ सकेपछि विवाह गर्ने अटुट समझदारी बनेको थियो । त्यही मुताबिक आज भयो । श्रीमान्, श्रीमती भए । मुख्य कुरा यसरी श्रीमान्, श्रीमती हुँदा खुसीको सीमा नरहनु पर्दथ्यो । अर्थात् त्यो खुसी सुहागरातमा चौगुणा हुनुपर्दथ्यो तर सिसाको गिलास फुटे जस्तो मन भयो रूपाको ।
पढाइ सकिनेबित्तिकै रमेशले एउटा अमेरिकी प्रोजेक्टमा जागिर पाएका थिए । जागिर पाएको धेरै भएको थिएन । रमेशको पनि पटक पटकको दबाब सायद लाग्दो होला भोलि के हुन्छ भन्ने ? बुबा आमाले अर्कैसँग बिहे गरिदिन के बेर ? रूपाले नि बाबुआमालाई खुलेर भनेकी थिइन् म रमेशसँग प्रेम गर्छु भनेर । सबै भने जस्तो भएको थियो ।
रात बित्दै थियो, विवाह घर क्रमशः सुनसान थियो । रमेशको कोठामा मात्र रातो बत्ति बलेको थियो । रमेश लुगा फेरेर बाथरूप गयो । रूपा कपडा फेरेर नाइट डे«स लगाइन् । रमेश बाथरुमबाट रोमान्टिक हुँदै निस्केका थिए । किनभने पाँच वर्षे समय अवधिमा रमेश र रूपा बीच कयौँ पटक त्यस्ता अन्तरंग पल बिते तर शरीरको भोग विलास भएन ।
जब रशेश जिद्दी गर्दथ्यो रूपाको एउटै तर्क हुन्थ्यो । अरू जे गर्छौं गर त्यति चाहिँ सुहागरातलाई बाँकी छाड तर आज रूपाको मुड भंग भएको छ । बारम्बार रत्यौलीको त्यही टुक्का उनको कानमा गुञ्जन्छ, बल्ल छोरो भ थियो कमाउनी, आइ बुहारी एटीएम समाउनी । जसलाई उनले गीतको रूपमा मात्र बुझिनन्, स्वीकारिनन् । एउटा दृष्टिकोणको रूपमा बुझिन् ।
नारीले नारीलाई गर्ने अवहेलना र दमनका रूपमा बुझिन् । एउटा सोचमा थिग्रिइन् । त्यत्तिकै महिला पुरुषका दास भएका रहेन्छन् । महिलाको जीवन पुरुषमा आधारित हुनु र दोस्रो दर्जाका नागरिकका रूपमा महिलाको जीवन यापन हुनुमा दोषी कोही छ भने त्यो महिला नै हो ।
‘कता हराछौ श्रीमतीजी !’, रमेश खाटमा प्रवेश गर्दै रूपालाई अँगालो हाल्छन् ।
‘मन कस्तो–कस्तो भ’छ । मुड बिग्रिएछ । प्लिज भोलि है’, रूपा भन्छिन् ।
‘जिन्दगी जिउँदो छ । ठीकै छ, केही छैन तर त्यस्तो केही भा’को त होइन नि ?’
‘होइन त्यस्तो त तर किन–किन मन खुसी छैन । मन खुुसी भ’को बेला सम्बन्धमा निराशा छाउन सक्छ भनेरमात्र । हुन त पहिलेदेखिको वाचा हो हतार छ भने म रोक्दिनँ । तर… ।’
‘भोलि त पक्का हुन्छ नि ?’
रमेशको निधारमा म्वाइ खाँदै भनिन्– ‘पक्का हुन्छ ।’
भोलिपल्ट दुराने गए । माइत पुगेपछि उनले एटिएम निकालेर स्याङ्जा बजार गइन् । १० हजार निकालिन् । रमेशलाई एउटा टिसर्ट र टोपी किनेर ल्याइदिइन् । रमेशलाई लगाउन भनिन् तर रमेशले लगाउन मानेनन् । रूपाले जिद्दी गरेपछि नलगाई धरै पाएनन् । रूपा खुसी भइन् । सो खुसी बेलुका दोब्बर बन्यो ।
सुहागरात चाँदनीमय बन्यो ।





