कांग्रेस महाधिवेशन वैशाख २८-३१, ५ नेताको फरक मत

सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको नयाँ कार्यतालिकासहितको प्रस्ताव पारित भएको हो ।

उता चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको आयु पनि लम्ब्याएर २०८३ जेठसम्म कायम गर्न पनि खड्काले राखेको प्रस्ताव पास भएको छ । कार्यवाहक खड्काले पेश गरेको दुवै प्रस्ताव पास भएको पूर्वमहामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आगामी पुस २६ गतेदेखि विशेष महाधिवेशन गर्ने घोषणासहित भृकुटीमण्डपको हल पनि बुकिङ गरेको अवस्थामा संस्थापनले काउन्टर प्रस्ताव ल्याएर पारित गरेको हो ।

विशेष महाधिवेशनका कारण कांग्रेस फुट्ने आशंका भइरहेका बेला संस्थापनले महाधिवेशन आगामी फागुन २१ को चुनावपछि मात्रै गर्ने प्रस्ताव पास गराएको हो ।

यसअघि पुस २६ गतेदेखि हुने गरी गत मंसिर १५ गते तय गरिएको १५औँ महाधिवेशन निर्धारित समयमा हुन नसक्ने भएको थियो ।

यसले कांग्रेसभित्र ठूलो विवाद चुलिएको थियो । अब पुस २६ देखि विशेष महाधिवेशनको तयारीमा रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाशले के गर्लान् ? प्रतीक्षाको विषय बनेको छ।

महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगित गर्दै विशेष महाधिवेशनको घोषणा गरेका थिए । तर केन्द्रीय कार्यसम्पादन र केन्द्रीय कार्यसमिति दुवैमा बहुमत रहेको संस्थापनले विशेष महाधिवेशनलाई बेवास्ता गर्दै नियमित महाधिवेशन नै आगामी वर्ष गर्ने प्रस्ताव पास गरेको हो ।

नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयमा दुई महामन्त्रीसहित ५ नेताले फरक मत राखेका छन् ।

सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको नयाँ कार्यतालिकासहितको प्रस्ताव पारित गर्दा पाँच नेताको फरक मत आएको हो ।

चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको आयु पनि लम्ब्याएर २०८३ जेठसम्म कायम गर्न पनि खड्काले राखेको प्रस्ताव पास भएको सन्दर्भमा महामन्त्री गगनकुमार थापाले आफूसहित पाँच नेताले फरक मत राखेको बताए ।

थापाका अनुसार अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि उक्त निर्णयमा फरक मत राखेका छन् । कार्यवाहक खड्काले पेश गरेको दुवै प्रस्ताव पास भए पनि यसले कांग्रेसमा नयाँ विवाद जन्माएको छ ।

महाधिवेशनको नयाँ कार्यतालिका

(क) गाउँ/नगर वडा अधिवेशन- २०८२ चैत २१ गते
(ख) गाउँ/नगरपालिका अधिवेशन- २०८२ चैत २५ गते
(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०८२ चैत २८ गते
(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन- २०८३ वैशाख २ गते
(ङ) दुई वा दुई भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०८२ वैशाख ५ गते
(च) प्रदेश अधिवेशन- २०८३ वैशाख १०, ११ र १२ गते
(छ) केन्द्रीय महाधिवेशन : २०८३ वैशाख २८, २९, ३० र ३१ काठमाडौं