गण्डकी बहुप्राविधिक शिक्षालयको निर्देशकमा डा टेकनारायण पौडेल नियुक्त भएका छन् । पोखरा महानगरपालिकाको ५७ औँ कार्यपालिका बैठकबाट पौडेललाई निर्देशन नियुक्त गर्ने निर्णय भएको हो ।
छनोट सिफारिस समिति मंसिर ६ गते निर्देशक पदका लागि तिन जनाको नाम पोखरा महानगरपालिकामा सिफारीस गरेको थियो । निर्देशकको योग्यताक्रमको आधारमा क्रमसः डा टेकनारायण पौडेल, सरोज अधिकारी र यज्ञप्रसाद पराजुलीको नाम सिफारिस गरेको भएको थियो ।
शिक्षालयमा निर्देशक लक्ष्मण तिमिल्सिना गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानमा निर्देशक बनेपछि निर्देशकको जिम्मेवारी पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले निमित्त निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
गण्डकी बहुप्राविधिक शिक्षालय प्राविधिक शिक्षालाइ स्थानीयस्तरमा सर्वसुलभ र सहज बनाउनका लागि २०७६ साल देखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटी सँगको सहकार्यमा पोखरा महानगरपालिकाले संचालन गर्दै आएको छ । शिक्षालयमा हाल गण्डकी प्रदेश लगायत देशका बिभिन्न जिल्लाबाट समेत करिब ४ सय बिद्यार्थी अध्ययनरत छन् ।
शिक्षालयमा डिप्लोमा तहका इन्जिनीयरिङ (सिभिल र अटोमोवाइल), स्वास्थ्य कार्यक्रमतर्फ फार्मेसी र सामान्य चिकित्सा, बन विज्ञान र प्रि–डिप्लोमातर्फ बाल विकास सहजकर्ता र सिभिल इन्जिनियरिङ्गका अन्तर्गत ८ वटा विषयमा अध्यापन भइरहेको छ ।




