गण्डकी प्रदेश सरकारले व्यवसायिक तथा सीप विकास तालिम केन्द्रमार्फत् युवालाई दक्ष, स्वरोजगार र उद्यमी बनाउन भूमिका निर्वाह गर्दै आएको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको व्यवसायिक तथा सीप विकास तालिम केन्द्र पोखराले युवालाई तालिम दिँदै आएकोमा अब तालिमपछि स्वरोजगार र उद्यमी बन्न चाहनेलाई बिउँ पुँजीसमेत उपलब्ध गराउने भएको हो ।
यो वर्ष पहिलो चरणमा बुधबारबाट १२ विधामा तालिम सुरु भएको छ । ३ महिने (३९० कार्यघण्टा)का तालिममा सहभागी बन्न आवेदन गर्नेहरुमध्ये विभिन्न मापदण्डका आधारमा सहभागी छनोट गरिएको हो । केन्द्रले कुक, कपाल काट्ने (सैलुन) आधारभूत केश श्रृंगार, विद्युत जडान, प्लम्बिङ, मोबाइल मर्मत, आधारभूत कम्प्युटर, आधारभूत सिलाई कटाई, बुटिक डिजाइन, मोटरसाइकल मर्मत, अटोमोबाइल र मन्टेसरी तालिम सञ्चालन गर्दै आएको छ ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले सबै तालिम बुधबार सुरुआत गरे । मन्त्री थापाले सीपमूलक तालिम सिके रोजगारी सिर्जना गर्न सकिने बताए । ‘कपाल काट्ने, प्लम्बिङ र टेलरिङ लगायतका श्रमबजारमा विदेशीको बाहुल्य छ,’ उनले भने, ‘आयआर्जनसमेत धेरै हुने ती क्षेत्रमा नेपालीको प्राथमिकतामा पर्न आवश्यक छ ।’
मन्त्री थापाले तालिम लिएर उद्यम सुरु गर्न चाहनेका लागि प्रदेश सरकारले बिउँ पुँजी (सिड मनी)का लागि बजेट व्यवस्था गरेको जानकारी दिए । उनले भने, ‘सीप सिकिसकेपछि आफैं केही गर्न चाहनेलाई सिड मनीको व्यवस्था गरेका छौँ । त्यो भन्दा पनि ठूलो काम गर्न चाहनेलाई मन्त्रालयले ब्याजमा अनुदान दिनेछ । सीप सिकेर सानो कोही हुँदैन, सम्मानसाथ सिक्न आवश्यक छ । श्रमको सम्मान गर्दै नेपालमै बसेर उद्यमी बन्न सबैलाई आग्रह गर्दछु ।’
गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक डा सोमनाथ सापकोटाले सीपको महत्व र अहिलेको युगको आवश्यकतालाई ध्यान दिन आग्रह गरे । भने, ‘सीप विकास केन्द्रको तालिम ब्रान्ड बन्दै गएको छ । सरकारले गरेको लगानी सदुपयोग गर्न प्रशिक्षार्थीहरू जिम्मेवार हुनुपर्छ ।’
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका प्रमुख अनिल सुवेदीले १ हजार ३ सय ५५ जनाले फाराम भरेकोका २९९ जनालाई छनोट गरिएको जानकारी दिए । उनले तालिम अवधिभर समर्पित भई सीप सिक्न र आर्जित सीप लगानी गरी स्वरोजगार वा उद्यमी बन्न आग्रह गरे ।

केन्द्रका सहायक प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले १ हजार ३ सय ५५ जनाले आवेदन दिएकोमा व्यवसाय गर्ने र स्वरोजगार बन्नेलाई प्राथमिकताका आधारमा तालिम दिन लागेको बताए ।
सुवेदीले बाँकीलाई दोस्रो चरणमा तालिम दिइने जनाए । उनले ९० प्रतिशत हाजिर नभए सहभागीलाई प्रमाणपत्र नदिइने प्रष्ट पारे । केन्द्रले गत वर्ष ७ सय ८६ जनालाई दीक्षित गरेको थियो ।
कार्यक्रममा केन्द्रका सहायक प्रशासकीय अधिकृत विष्णुदेवी पोखरेल र प्रशिक्षक यमकुमारी रानाले पनि बोलेका थिए ।




