पोखरामा पंज्ञानीको महाकाव्य युगान्तरको चर्चा

कवि मित्रलाल पंज्ञानी (कणाद)द्वारा लिखित युगान्तर महाकाव्यको सोमबार पोखरामा परिचर्चा गरिएको छ । गण्डकी साहित्य संगम पोखराले आयोजना गरेको कार्यक्रममा बाम बुद्धिजीवी रामराज रेग्मीले सो कृतिमाथि चर्चा गरे ।

संगमका सल्लाहकारसमेत रहेका रेग्मीले शोषण, उत्पिडन, अन्याय र अत्याचारको अन्त्य गरी समाज रुपान्तरणको मूल विषय कृतिले समेटेको उल्लेख गरे । उनले जनताको क्रान्तिबाट नयाँ युगको सुरुवात भएको सबाल कृतिको मूल सार रहेको बताए ।

‘हिंसा काटमारको उद्देश्य राखेर क्रान्ति हँुदैन,’ उनले भने, ‘तथापि बल प्रयोगको सिद्धान्त प्रयोग गरेर क्रान्ति सम्भव छ ।’ उनले समाज रुपान्तरण र सामाजिक जागरण ल्याउन महिलाले प्रमुख भूमिका खेलेको बताए । उनले माक्सवादी साहित्यका सचेत लेखक पंज्ञानीको कृतिको प्रमुख पात्रका रुपमा रहेकी दिपा दिदीले समाज परिवर्तनमा अग्रणी भूमिका खेलेको जनाए ।

कार्यक्रममा गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाट, उपाध्यक्ष पद्मराज ढकाल, सचिव नारायण मरासिनी, कोषाध्यक्ष विजया सुवेदी, सल्लाहकारहरु रघुनाथ अधिकारी, डा कृष्णराज अधिकारी, बामबुद्धिजीवि केशबहादुर परियार लगायतले बोलेका थिए ।

कार्यक्रममा संगम सांस्कृतिक मञ्चका कलाकार काजी गाउँले र विकास लुंगेली मगरले गीत प्रस्तुत गरेका थिए । स्याङ्जाको चापाकोट १० मा जन्मेका कवि पंज्ञानी २०३७ सालदेखि साहित्य सिर्जनामा क्रियाशील छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्यसमेत रहेका कवि पंज्ञानीका १९ कृति प्रकाशित छन् ।