फाइभ डी अल्ट्रासाउन्ड अब पोखरामै

गण्डकी प्रदेशको राजधानी सहर पोखराबाट फाइभ डी अन्ट्रासाउन्ड सुरु भएको छ । पोखराको न्युरोडमा रहेको पोखरा फाइभ डी अल्ट्रासाउन्ड डायग्नोस्टिक प्रालिले सोमबारबाट औपचारिक रुपमा सेवा आरम्भ गरेको हो ।

५ डी अल्ट्रासाउन्ड उन्नत इमेजिङ प्रविधि हो, जसले सफ्टवेयरमार्फत ३ डी÷४ डी अल्ट्रासाउन्ड इमजेहरुलाई थप परिष्कृत बनाउँदै भ्रुणको यथार्थपूर्ण र जीवन्त दृश्य देखाउँछ । यो प्रविधिलाई एचडी अल्ट्रासाउन्ड पनि भनिन्छ । यस्तो अल्ट्रासाउन्डमा शिशुको अनुहार, बनावट र गतिविधिलाई अझ स्पष्टसँग देख्न सकिन्छ ।

पोखरा फाइभ डी अल्ट्रासाउन्ड नेपालकै दोस्रो फाइभ डी अल्ट्रासाउन्ड मेसिन भएको दाबी गरिएको छ । रेडियोलोजिस्ट डा सागर खड्काले यसको स्थापना गरेका हुन् । गर्भाअवस्थामा शिशुको अवस्था, स्वास्थ्यबारे पत्ता लगाउन यसले सघाउने डा खड्काले बताए । उनले भने, ‘पूरै समाज नै यसबाट लाभान्वित हुने भयो नि । अपांग शिशु, डाउन सिन्ड्रोम आदि हुन सक्ने पहिले नै यसको माध्यमबाट थाहा हुन्छ ।’

सामसुङ कम्पनीको यो मेसिनले २ डी, ३ डी, ४ डी र ५ डी गरी चारै प्रकारका इमेजहरु तयार गर्न सक्छ । पर्यटन राजधानी पोखराको स्वास्थ्य क्षेत्रलाई अझ भरपर्दाे र अत्याधुनिक बनाउन यसले योगदान गर्ने डा खड्काको अपेक्षा छ ।

मेसिनसहित करिब दुई करोड लागतमा पोखरा फाइभडी अल्ट्रासाउन्ड डायग्नोस्टिक प्रालि स्थापना भएको हो । प्रालिले चाँडै सिटी स्क्यान सुविधासमेत थप्ने योजना बनाएको छ । प्रालिका बजार प्रबन्धक संगम लामिछानेले चौबिसै घन्टा सेवा दिइने र यसबाट धेरै सर्वसाधारण लाभान्वित हुने उल्लेख गरे ।

टिभिएस अल्ट्रासाउन्डको शुल्क दुई हजार पाँच सय, पेटको एक हजार पाँच सय र जोर्नीहरुको दुई हजार शुल्क तोकिएको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।