कविता: म दुईखुट्टे खच्चर

मैले नेपाल देश त्यागें
नेपाली नागरिकता त्यागें
नेपाली राहदानी त्यागें
सनातन धर्म त्यागें
भाषा त्यागें
भेष त्यागें
संस्कार त्यागें
संस्कृति त्यागें
चाडपर्व त्यागें
बा – आमा त्यागें
सासु – ससुरा त्यागें
दाजुभाइ त्यागें
साथीभाइ त्यागें
इष्टमित्र त्यागें
बुध्दि – विवेक त्यागें
परन्तु
पृथ्वीको जून कुनामा पुगेपनि
पहिलो
नेपालका नेताको थोत्रो झोला
दोश्रो
सिसाको झोल
मरिगए त्याग्न सकिन

भारी बोक्न नपाए
चारखुट्टे खच्चरको ढाड चिलाउँछ
झोला बोक्न नपाए
म दुईखुट्टे खच्चरको दिमाग चिलाउँछ

घरदेशमै बसेर
घरदेशकै नेताको झोला बोक्नेहरु
झोले नै हुन्
दुई छाक भरपेट दालभात खान
परदेशमा बेचिएर पनि
घरदेशकै नेताको झोला बोक्ने म
झोले होइन
महाझोले हुँ

अब उपरान्त मलाई
झोले भनेर अपमान नगर
ए महाझोले भनेर सम्मान गर
हुन्छ नि ?
किन नहुनु
बाजा बजाएर हुन्छ !