पोखरामा जुवातास खेल्ने र खेलाउने २० जना पक्राउ

पोखराका विभिन्न स्थानबाट जुवातास खेलिरहेका २० जना पक्राउ परेका छन्।

पोखराका विभिन्न ठाउँमा जुवातास खेल्ने खेलाउने २० जना पक्राउ परेका छन् । कास्की प्रहरीको टोलीले तीन ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । जुवातास खेलिरहेको गोप्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

पोखरा ९ नयाँबजारबाट ५ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट २१२ पत्ती तास र २ लाख ५९ हजार ४५५ रुपैयाँ नगद बरामद गरेको छ । यस्तै, पोखरा २६ विजयपुरको लम्पीबोट सामुदायिक जंगलबाट ७ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १४ थान कौडा ७७ हजार २०५ नगद बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए ।

पोखरा २ मोहोरियाटोलबाट थप ८ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ६ बुक तास र २ लाख ७३ हजार ४४५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएके छ । सबैलाई जुवातास मुद्दामा अनुसन्धान भैरहेको बस्नेतले जानकारी दिए ।