कार्कीले एक्लै लिइन् सपथ, सभामुख र राष्ट्रियसभा अध्यक्ष अनुपस्थित

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति गरेका छन्‌ । पहिलो महिला प्रधानन्यायाधीश कार्की देशको प्रथम महिला प्रधानमन्त्री बनेकी छिन्‌ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको संविधानको धारा ६१ को उपधारा ९४० बमोजिम अन्तरिम सरकारको प्रमुख बनेकी हुन्‌ । उनले आजै शपथग्रहण गरिसकेकी छिन्‌ । सानो मन्त्रिमण्डलसहित सपथ लिने बताइए पनि शुक्रबार उनले एक्लै सपथ लिएकी हुन् ।

पछिल्लो प्रदर्शन क्रममा उठेको संसद्‌ विघटनको माग सम्बोधन गर्नेगरी राष्ट्रपति कार्यालयमा आजै सहमति भएको थियो । जेनजी अभियन्ताहरूले संसद्‌बाट नभइ राष्ट्रपतिबाटै प्रधानमन्त्री नियुक्ति र संसद्‌ विघटन गर्न राखेको मागमा सहमति भएअनुसार कार्कीलाई उल्लेखित धाराबाट प्रधानमन्त्री नियक्ति गरिएको हो ।

कार्की प्रधानमन्त्री भएलगत्तै शपथग्रहण समारोहमा भाग लिन पूर्वप्रधानमन्त्रीहरू, प्रधानन्यायाधीशलगायत विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू शीतलनिवास पुगेका थिए । तर, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल भने समारोहमा अनुपस्थित रहे ।

समारोहमा जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पद गुमाएका केपी शर्मा ओली देखिएनन् । यस्तै पूर्वप्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल र झलनाथ खनाल पनि देखिएनन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने सहभागी भएका छन् ।