सुशीलाको पहिलो क्याबिनेटले गर्नेछ संसद विघटन

राष्ट्रपति कार्यालय शितल निवासमा भर्खरै भएको सहमतिअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आज राति ९ बजे अन्तरिम सरकार प्रमुखका रूपमा शपथग्रहण गराइँदै छ ।

राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार कार्कीको नियुक्ति र शपथलगत्तै मन्त्रिपरिषदको पहिलो बैठक बस्नेछ। त्यही बैठकले प्रतिनिधिसभा विघटनको निर्णय गर्ने र स्वीकृतिको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सहमति भएको छ।

मन्त्रिपरिषदले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि राष्ट्रपतिबाट स्वीकृत हुनेछ, पोखरेलले भने। आन्दोलनरत जेनजी युवाहरूको मागअनुरूप संसद विघटन गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो।

राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवाहरूबाट प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीबीच कसको सिफारिसमा संसद भंग गर्ने भन्नेबारे कुरा मिल्न नसकेपछि प्रधानमन्त्री नियुक्तिमा विलम्ब भइरहेको थियो।

जेनजीको मागअनुरुप अन्तरिम सरकारको प्रमुख बनेकी कार्कीले संसद विघटनको अपजस लिन तयार भएकी छन् । संविधानमा प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्टिय सभाले सबै अधिकार प्रयोग गर्न सक्ने व्यवस्था छ । यो कदमले अनेक संवैधानिक जटिलता ल्याउनेछ ।