
पोखरामा शनिबार बिहानसम्मलाई कर्फ्यु आदेश जारी गरिएको छ। शुक्रबार साँझ ७ बजेदेखि लागू हुने गरेर शनिबार बिहान ५ बजेसम्मलाई कर्फ्यु आदेश भएको हो ।
पोखरा महानगरपालिकाको वडा नम्बर १ देखि ३३ सम्म यो आदेश लागू हुनेछ । सो समयमा स्थानीय प्रशासनले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरेको हो ।
सो अवधिमा अत्यावश्यक सेवा एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका सवारी साधनहरु सञ्चानलन हुन पाउनेछन् ।
शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कास्कीका माछापुच्छ्रे, अन्नपूर्ण, रुपा र मादी गाउँपालिका क्षेत्रमा भने कर्फ्यु र निषेधाज्ञा लगाइएको छैन ।
यसैबिच कास्की प्रशासनले शुक्रबार सूचना जारी गरी आन्दोलनका क्रममा लुटिएका सामानहरु फिर्ता गर्न आग्रह गरेको छ । सामान फिर्ता नगरे सिसी क्यामेर फुटेजका आधारमा पहिचान भइसकेका व्यक्तिहरुमाथि कारवाही हुने प्रशासनले प्रष्ट पारेको छ ।