ट्रकमा जिपिएस जोड्नुस्ः मन्त्री केसी

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले ट्रक व्यवसायीले मालसामान ढुवानीमात्र नभएर देशकै अर्थतन्त्र चलायामान गराएको बताएका छन् । शनिबार गण्डकी ट्रक यातायात व्यवसायी संघको ४८ औं वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् ।

मन्त्री केसीले निजी क्षेत्र देशको अर्थतन्त्रको खम्बाको रुपमा रहेकोसमेत उल्लेख गरे । उनले बिमा दावी प्रक्रिया कठिन हुनु, समयानुकूल नीति नहुनु, दक्ष चालकको कमी, सडकको खराब अवस्था, भारतीय ट्रकहरूसँग प्रतिस्पर्धा लगायतका व्यवसायीका समस्याका बारेमा आफू जानकार रहेको सुनाए । उनले यी समस्या समाधानका लागि प्रदेश सरकार आफ्नो ठाउँबाट सक्दो लागिरहेको उल्लेख गरे ।

संघले पुराना गाडी विस्थापनमार्फत वातावरणीय प्रदूषण घटाउन गरेको पहल, दुर्घटना हुँदा क्षतिपूर्ति र सहयोग सुनिश्चित गर्ने काम र सामाजिक क्षेत्रमा गरेको कार्यको प्रशंसा मन्त्री केसीले प्रशंसा गरे । उनले बसपार्कको चर्चा हुने र समस्या साधनका लागि पहल भए पनि ट्रक पार्किङको समस्या ठूलो रहेकोसमेत उल्लेख गरेका छन् ।

मन्त्री केसीले प्रविधिको प्रयोगमार्फत व्यवसायमा सहजीकरणका लागि समेत व्यवसायीलाई आग्रह गरे । ‘ट्रकमा जिपिएस ट्रयाकिङ प्रणाली जडान गर्नुहोला । यसले हाम्रा ट्रक कहाँ छन्, कहाँ पुगे भन्ने थाहा पाउन सजिलो हुन्छ । सुरक्षाको दृष्टिकोणले यो निकै महत्वपूर्ण छ,’ उनी भन्छन्, ‘डिजिटल बिलिङजस्ता विषय पनि यहाँहरुको प्राथमिकतामा परोस् भन्ने मेरो सुझाव छ ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले सरकारले यातायात व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेमा जोड दिए । आफूहरुलाई दोस्रो दर्जाको नागरिक जसरी व्यवहार गर्ने गरिएको दुखेसो पोखेका उनले व्यवसायीमैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरे ।

राज्यलाई नियमपूर्वक कर तिरेर र रोजगारी सृजना गरेर सहयोग गर्ने व्यवसायीको विरुद्ध सरकार गएर कसको पक्षमा काम गर्ने हो भन्दै उनले प्रश्न गरे । संघका संस्थापक अध्यक्ष तेजनारायण तिवारीले सरकाले व्यवसायीलाई दुख दिने नियत राख्न नहुने धारणा राखे । अनेक झमेला दिएर प्रतिकूल अवस्थामा समेत व्यवसाय गरिरहेका व्यवसायीलाई पलायन गराउनेतर्फ सरकार लागेको उनको आरोप छ ।

ग्ण्डकी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीले ट्रक पार्किङको विषय अहिलेसम्म सरकारको नजरमा नपरेको बताए । नेपाली व्यवसायीले भारवहन लगायतका नियमको कडाइका साथ पालना गर्दा भारतीय व्यवसायीलाई सो नियम नै नलाग्ने अवस्था आउनुको कारण खोजे । गण्डकी ट्रक यातायात व्यवसायी संघका सदस्यको मात्रै अरबौं लगानी रहेको भन्दै उनले यो लगानीको संरक्षण गर्नु सरकारको पनि दायित्व रहेको सम्झाए ।

कार्यक्रममा हेवी इकुप्मेन्ट व्यवसायी संघ कास्कीका अध्यक्ष बालकृष्ण कोइराला, पूर्ववरिष्ठ उपाध्यक्ष हेमराज सुवेदी, संघका वरिष्ठ उपाध्यक्ष कल्याण तिमिल्सिना र महासचिव सोभराज थापा लगायतले बोलेका थिए ।