सालिन्दा मौलिक तीजगीत ल्याउँछिन् अम्बिका (भिडियोसहित)

नेपालीको पुरानो जनजीवन फेरिएको छ । सँगसँगै फेरिएका छन् समाजका समस्या र सम्भावनाका बाटाहरु पनि । यही बद्लावको गतिसँग नेपाली महिलाको जीवन पनि फेरिएको छ । नेपाली महिलाले मनाउने तीजगीतको स्वरुप र यसका भावमा पनि परिवर्तन आएको छ ।

यही गतिलाई समातेर गायिका अम्बिका भण्डारीले सालिन्दा नयाँ तीजगीत ल्याउने गरेकी छन् । यसपालिको तीजलाई लक्षित गरी भण्डारीको ‘पहिले जस्तो छैन गाउँघर’ सार्वजनिक भएको छ । गीतमा आवाज लय र शब्द उनकै छ ।

नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियोमा छवि सुवेदीले रेकर्ड गरेको गीतको संगीत संयोजन जुजु गुरुङ र मिक्सिङ मुर्चुङ्गा स्टुडियो काठमाण्डौमा गोविन्द ओलीले गरेका हुन् । कोरस स्वरमा धनकुमारी कँडेलले साथ दिएकी छन् ।

लबसन गुरुङको निर्देशनमा तयार भएको भिडियोमा दीपना पुनको अभिनय हेर्न पाइन्छ । फलानो क्रियसन पोष्ट प्रोडक्सन गरिएको भिडियोको छायाँङ्कन दीपेश केसी तथा सम्पादन सुवास अम्गाइले गरेका हुन् ।

अन्नपूर्ण गाउँपालिकामा छायाङ्कन गरिएको गीत अम्बिका भण्डारी युट्युब च्यानलबाट सार्वजनिक भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाका सम्पदा, विकास, परिवर्तन र रहनसहन समेटिएको गीतको म्युजिक भिडियोका लागि अन्नपूर्ण गाउँपालिकासँग सहकार्य भएको भण्डारीले बताइन् ।

यसअघि महिलाका पीडा, बाआमासँगका सम्झनालाई तीजगीतमा ल्याएकी भण्डारीले यसपालि स्थानीय सरकारका गतिविधि गीतमा समेटेकी छन् । उनी भन्छिन्, ‘हाम्रा गाउँघर फेरिएका छन्, विकास पुगेको छ । समस्या त छन् नै, विकासका प्रयास पनि भएका छन् । प्राकृतिक सुन्दरता र गाउँको सिंहदरबारका गतिविधि केही हदमा गीतमा आएका छन् ।’

अन्नपूर्ण गाउँपालिका २ ठूलाचौरमा जन्मिएकी अम्बिकाले २०६५ सालमा पहिलो पटक तीजगीत सार्वजनिक गरेकी थिइन् । गत वर्ष उनको ‘हो कि होइन जूनकीरी’ बोलको गीत बजारमा आएको थियो ।

यसअघि भण्डारीका २ दर्जन तीजगीत बजारमा आइसकेका छन् । साहित्यकारसमेत रहेकी उनका मुक्तक एक, कविता संग्रह दुई र खण्ड काव्य एक गरी चार पुस्तक प्रकाशित छन् ।