पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सास्थित तिलोत्तमा माध्यमिक विद्यालयमा छात्रावासमै एक विद्यार्थीले बच्चा जन्माएपछि विद्यालय र स्थानीय समुदायमा हलचल मच्चिएको छ ।
कक्षा ११ मा अध्ययनरत कल्पना (नाम परिवर्तन) ले गत चैत ११ गते राति विद्यालयकै होस्टेलमा छोरी जन्माउनुभएको हो । विद्यालयका अनुसार ती छात्रा शिक्षा सङ्कायमा अध्ययनरत हुनुहुन्थ्यो ।
टाढाबाट आएको हुनाले विद्यालयले उहाँलाई छात्रावास उपलब्ध गराएको थियो । घटना भएको राति छात्राले छात्रावासमै बच्चा जन्माएपछि होस्टेल वार्डेनको सहयोगमा उहाँलाई तत्काल आफन्तको सम्पर्कमा ल्याएर उपचारका लागि बुटवल पठाइएको थियो ।
त्यहाँका विद्यार्थीका अनुसार सुत्केरी हुनुअघिसम्म पनि ती छात्रा नियमित कक्षामा सहभागी हुनुका साथै विद्यालयमा सञ्चालित परीक्षामा समेत सहभागी हुनुभएको थियो ।
स्थानीय बासिन्दाले भने यो घटनाले विद्यालयको निगरानी र जिम्मेवारीमाथि प्रश्न उठेको बताएका छन् । “नौ महिनासम्म छात्राको अवस्था थाहा नपाउनु विद्यालयको गम्भीर कमजोरी हो,” एक स्थानीयले भन्नुभयो, “यस्तो लापर्बाहीप्रति सम्बन्धित पक्षलाई जिम्मेवार बनाउनु पर्छ ।”
विद्यालयका प्रधानाध्यापक झपेन्द्र ज्ञवालीले घटना भएको स्वीकार गर्दै यसबारे आफूहरूले बच्चा जन्मिएपछि मात्र जानकारी पाएको बताउनुभयो ।
“ती विद्यार्थी टाढाबाट आएकी हुनाले होस्टेलमा बस्दै आएकी थिइन् । सुत्केरी भएको कुरा हामीलाई पछि मात्रै थाहा भयो,” उहाँले भन्नुभयो, “तत्काल अभिभावकलाई खबर गरेर जिम्मा लगाएका छौँ ।”




