रामनवमीमा विश्व शान्तिको कामना गर्दै प्रवचन

रामनवमीको अवसर पारेर पोखरामा विश्व शान्तिको कामनासहित प्रवचन समारोह भएको छ । विश्वमा हिंसा र युद्धको तत्काल अन्त्य भई शान्तिको कामनासहित शmुत्रबार कार्यक्रम भएको हो ।

कार्यक्रममा उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले निस्वार्थ भावनाका साथ गरिने कार्यबाट समाजसेवामा योगदान पुग्ने बताए । कार्यक्रम स्थल मन मन्दिरले पोखरामा महत्वपूर्ण योगदान दिएको बताउँदै उनले यस ठाँउको बारेमा पर्याप्त चर्चा परिचर्चा हुनुपर्नेमा जोड दिए ।

मनमन्दिर यसका संस्थापक विष्णुबिक्रम जिएसले स्वर्गीय श्रीमती चन्द्रकला जिएसको सम्झनामा सेवाको भावनाले समर्पित गरेको परोपकारी संस्था हो । यो मन्दिरमा विशेषगरी वृद्धका लागि निशुल्क शारीरिक स्वास्थ्य उपचार, फिजियोथेरापी, मसाज, आँखा, कानको परीक्षण हुन्छ ।

मन्दिरमा ध्यान तथा साधनाका साथै विभिन्न सीपमूलक सिर्जनात्मक कला कौशलका विषयमा पनि पठनपाठनको व्यवस्था गरिएको छ । समारोहमा प्रमुख वक्ताका रुपमा डा नारायणप्रसाद अधिकारीले प्रवचन दिए ।

अधिकारीले भगवान रामको महिमा बताउँदै उनलाई पूजा गर्ने तर सोही अनुसार अनुसरण भने नगर्ने गरेको पाइएको सुनाए । रामको जीवनीबाट धेरै प्रेरणा पाउन सकिने व्याख्या गर्दै उनले रामायणले नेपालीलाई एकआपसमा जोड्न सहयोग गरेको सुनाए ।

सो अवसरमा भक्ति संगीत प्रतिष्ठान पोखराका अध्यक्ष नवराज बरालको नेतृत्वको समूहले भजन प्रस्तुत गरेको थियो । पोखरा चिसाखोला वेदविद्याश्रमको आयोजनामा सो कार्यक्रम भएको हो । वेदविद्याश्रमका प्राचार्य मोक्षनाथ तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्कृतिकर्मी तथा साहित्यकार रविन्द्र माकाजूले गरेका थिए ।