मुख्यन्यायाधीवक्ता संवैधानिक पद हो । प्रदेशका मुख्यमन्त्रीलाई कानुनी सल्लाह दिने मुख्यन्यायाधीवक्ता मुख्यमन्त्रीको सिफारिसमा नियुक्त हुन्छन् । उनीहरुले उच्च अदालतका न्यायाधीशसरह सवारीसाधन, इन्धन, तलवभक्ता, आवास सुविधासमेत पाउँछन् । यसरी सरकारी तलव, सुविधा पाउने संविधानिक पदमा नियुक्त भएका गण्डकीका मुख्यन्यायाधीवक्ता चिरञ्जीवी शर्मा पौडेल भने अनैतिक र अराजक छन् ।
म्याग्दीको बेनी घर भएका उनी २०७९ सालको स्थानीय निर्वाचनमा बेनी नगरपालिकाको मेयरका प्रत्यासी थिए । कांग्रेसबाट मेयरका प्रत्यास बनेका शर्माले गत वर्ष वरिष्ठ अधिवक्ता पदावीसमेत पाएका थिए । उनको कामले भने वरिष्ठ पदावीलाई नै गिज्याइरहेको छ । शर्मा नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा गुटको अराजक कार्यकर्ताभन्दा माथि उठ्न नसकेको उनका गतिविधिहरुले पुष्टि गर्छन् ।
शर्मा नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा गुटको अराजक कार्यकर्ताभन्दा माथि उठ्न नसकेको उनका गतिविधिहरुले पुष्टि गर्छन् ।
लामो समयदेखि उनले राजनीतिक दलका नेताहरुलाई गम्भीर आरोप लगाउँदै आलेखहरु प्रकाशन गर्दै आएका छन् । उनका आलेखहरु गोरखापत्र दैनिकदेखि समाधान दैनिकमा बढी प्रकाशित छन् । उनले रास्वपा सभापति रवि लामिछाने, नेपालका कम्युनिस्ट पार्टीहरु र नेपाली कांग्रेस सभापति गगन थापाको समूहलाई बढी प्रहार गर्ने गरेका छन् ।
उनी बेला बेलामा विभिन्न पत्रपत्रिकामा लेख, रचना लेखिरहन्छन् । उनको लेखन र व्यवहारमा भने पटक्कै तादात्म्य देखिँदैन । ‘मुख्य न्यायाधीवक्ताको भूमिका’ शीर्षकमा गोरखापत्र दैनिकमा छापिएको लेखमा उनी लेख्छन्ः
मुख्य न्यायाधिवक्ताको पद कानुनको शासन कायम गर्नका लागि प्रदेश सरकारलाई सहयोग गर्ने व्यावसायिक पद हो । तसर्थ मुख्य न्यायाधिवक्तालाई महान्यायाधिवक्ताको नियन्त्रण र अधीनमा राख्ने संवैधानिक प्रावधानलाई संशोधन गरी सङ्घीयताको कसीमा मुख्य न्यायाधिवक्तालाई स्वतन्त्र प्रदेशस्तरीय संवैधानिक निकायका रूपमा पुनः परिभाषित गर्नुपर्ने देखिन्छ ।
उनको ढोंगी चरित्र लेखनमा प्रष्ट देखिन्छ । गएको फागुन २७ गते प्रकाशित …संसदीय निर्वाचन र महासंकटमा नेपाली कांग्रेसÆमा उनी कांग्रेस सभापति गगन थापाले तत्काल राजीनामा दिनुपर्ने बताउँछन् ।
उनले पुराना दलका मुख्य नेताहरु विदेशीको एजेन्ट भएको दाबी गरेका छन् । सँगसँगै उनले रास्वपा सभापतिले सहकारी ठगेको उल्लेख गरेका छन् । उनले रविले सहकर्मी पत्रकार र ड्राइभरको हत्या गरेको दाबीसमेत गरेका छन् ।
उनी लेख्छन्ः

कांग्रेसलाई निर्वाचनमा अभूतपूर्व सफलता ल्याउने ‘फुइँÚ छाडेर सभापति बनाइएका गगन थापा हालै सम्पन्न संसदीय निर्वाचनमा आफैँ उत्तानो परेका छन् ।
बाबुराम, प्रचण्ड, रवि, बालेन वा महावीर जेसुकै नाम दिइए पनि समग्रमा यिनीहरू इण्डो–पश्चिमाहरूले खुवाएका वा हुर्काएका एजेन्टहरू नै हुन् जसलाई नेपाल दोहन गर्न खटाइएको बुझिन्छ ।
निर्वाचनअघिका लेखहरुमा उनले फागुनमा निर्वाचन हुनै नसक्ने दाबी गर्दै आएका थिए । उनी सधैं कम्युनिष्टहरुलाई तल्लो स्तरमा झरेर पूर्वाग्रही ढंगले आलोचना गर्छन् । एउटा आलेखमा उनले कम्युनिस्टहरुलाई कुटेर देशबाटै भगाउनुपर्ने र देश कम्युनिस्ट विहीन बनाउनुपर्ने लेखेका छन् । ‘यसकारण यिनीहरू खिर्राकै बिउ हुन्’ भन्ने ८०८२ साउन २० गते प्रकाशित लेख यसको एउटा नमुना हो । माओवादी, राप्रपा र रास्वपाले भदौ २३ र २४ निम्त्याएको उनको दाबी छ । उनी लेख्छन्ः
विगतमा मुलुकलाई हत्या र हिंसाको चपेटामा गिजोलेर आएको भारतीय कम्युनिस्ट पार्टीभन्दा फरक नपर्ने नेकपा माओवादी केन्द्रका केही जल्लादले लुटेको सम्पत्तिले उचालिएर नपुगेर गत भदौं २३ र २४ को राज्य आतंक फैलाउन आफ्ना आसेपासेहरूलाई मैदानमा उता¥यो ।
‘अझै सुन र पित्तल नछुट्याउने’ शीर्षकको असार ८ मा प्रकाशित लेखमा उनले रवि लामिछानेलाई नटवरलालको संज्ञा दिएका छन् । रवि लामिछाने रिहाइका तरंगहरु शीर्षको लेखमा उनी लेख्छन् :
दुनियाँले बुझेकै हो कि एउटी मात्र पत्नीबाट सन्तुष्ट हुन नसकेर ४/४ वटी महिलालाई पत्नी तुल्याएर नारी अस्मिताको खेलवाड गर्ने, सिधा कुरा जनतासँग कार्यक्रम चलाउँदा पैसा लिएर मात्र कसैको भण्डाफोर गर्ने वा पैसा दिएपछि गर्न लागिएको भण्डाफोरलाई गुपचुप राख्ने, अमेरिका पुगेर समेत घरभाडा घोटाला, कर घोटाला, बैंक ठगी जस्ता विभिन्न घटनाहरूमा जोडिने, नेपाल फर्केपछि विदेशी नागरिकता नै बोकेर नेपाली कानुन र व्यवस्थालाई उपहास गर्ने, क्रसर व्यवसायीसँगको अनुचित लेनदेनको पोल खोलिदिन्छ भन्ने बहानामा कुनै बेलाका आफ्नै सहकर्मी शालिकराम पुडासैनीको ठाडै हत्या गर्ने, अवैध लेनदेनको पोल खुल्ने डरमा ड्राइभरलाई छतबाट हुत्याउने जस्ता अत्यन्त विवादास्पद र आपराधिक मनोवृत्तिका मानिस हुन् उनी भन्ने कुरा थुप्रै घटनाक्रमहरूबाट पुष्टि भएकै विषय हो । नेपाली राजनीतिक बजारमा यो चर्चाले स्थान पाएकै छ । अहिलेका रास्वपाका सभापति बनाइएका रवि लामिछाने व्यक्ति एक तर रुप र ठेगाना अनेक देखाएर सहकारीबाट रकम अपचलन गरेको देखिन्छ ।

कांग्रेसभित्रको खैलाबैला, आधार र निकाश शीर्षकका पुस २८ गते प्रकाशित लेखमा उनी लेख्छन्ः

यसरी कर्तव्य बिर्सिएर नेताहरुलाई प्रमाणबिनै संगीन आरोप लगाउने उनका हरेक लेखको पुछारमा वरिष्ठ अधिवक्ता पौडेल गण्डकीका मुख्यन्यायाधीवक्ता हुन् लेखिएको छ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्ता अनैतिक र पूर्वाग्रही मुख्यन्यायाधीवक्तालाई बर्खास्त गर्छन् वा संरक्षण गर्छन्, समयले देखाउनेछ ।
मुख्यन्यायाधीवक्ता शर्माले आफूले गलत नियतले आलेखहरु नलेखेको प्रतिक्रिया दिए । उनले भने, ‘लेखहरु मैले नै लेखेको हो, जिम्मेवारी म लिन्छु । गलत नियतले लेखेको होइन ।’ गण्डकी सरकारका प्रवक्तासमेत टकराज गुरुङले सरकारी निकाय र कर्मचारीसहित सबै सर्वसाधाराणले पनि कानुन पालना गर्नुपर्ने बताए ।
‘अहिलेसम्म मैले त्यस्तो आलेख पढेको छैन, त्यसो गरेको हो भने त्यो गर्न मिल्दैन,’ उनले भने, ‘सरकारले आफ्नै तवरले पनि यसबारे अध्ययन गर्छ ।’
अहिले गण्डकीको मुख्यन्यायाधीवक्ताको कार्यालयमा १२ जना कर्मचारी छन् । कार्यालयले सरकारविरुद्ध परेका मुद्दाहरुको प्रतिरक्षा गरिरहेको सूचना अधिकारी टेकनाथ शर्मा बताउँछन् । कार्यालयकी अर्की सहायक न्यायाधीवक्ता पवित्रा भण्डारीका अनुसार गण्डकी सरकारविरुद्ध अहिले सर्वाेच्च अदालतमा ७०, उच्च अदालत पोखरामा ६, उच्च अदालत पोखराको बागलुङ इजलासमा १, जिल्ला अदालत ललितपुरमा १, उच्च अदालत पाटनमा ५ र प्रशासकीय अदालतमा १२ मुद्दा रहेको जानकारी दिइन् ।
नेपालको संविधान २०७२ को धारा १६० ले महान्यायाधिवक्ताको मातहत रहने गरी प्रत्येक प्रदेशमा एक मुख्यन्यायाधिवक्ता रहने व्यवस्था गरेको छ । गण्डकी प्रदेशमा २०७४ चैत्र ८ गते बाट मुख्यन्यायाधिवक्ताको नियुक्ति भएदेखि मुख्य न्यायाधिवक्ताको कार्यालय स्थापना भएको थियो ।




