बागलुङ समाज पोखराको अध्यक्षमा नरेश सुवेदी सर्वसम्मत भएका छन् । पोखरामा शनिबार भएको समाजको २५ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनले सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चुनेको हो ।
कार्यसमितिको उपाध्यक्षमा गंगबहादुर पुन, सचिव बालाकृष्ण सापकोटा, सहसचिव प्रकाश मल्ल र कोषाध्यक्षमा कोपिला श्रीस चयन भए । सदस्यमा रमेश विक, दुर्गबहादुर खत्री, गोमा कार्की बाँस्कोटा, रूद्रबहादुर श्रीस, सूर्यबहादुर थापा र हिरा थापा छन् ।
नवनिर्वाचित समाजका अध्यक्ष नरेश सुवेदीले समाजलाई अझै सुदृढ र एकताबद्ध बनाउँदै बागलुङेहरुको हकहितमा क्रियाशील रहने वाचा गरे । उनले समाजले विगतदेखि गर्दै आएका सामाजिक तथा परोपकारी कार्यलाई थप प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धतासमेत जनाए ।
कार्यक्रममा गण्डकी प्रदेशकी उपसभामुख विनाकुमारी थापाले स्थानीय समुदायसँग जोडिएर समाजसेवा गर्न पाउनु सौभाग्य भएको बताइन् । उनले समाजको रचनात्मक र सिर्जनात्मक कामले छुट्टै पहिचान बनाएको उल्लेख गरिन् । कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आफ्नो जिल्लाको कार्यक्रममा पहिलोपटक सहभागी हुन पाउँदा खुसी लागेको उल्लेख गरिन् । शर्माले समाजका रचनात्मक कार्यक्रमलाई आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

सो अवसरमा उपसभामुख थापा र प्रजिअ शर्मा लगायतले समाजको रजत जयन्तीको अवसरमा प्रकाशित रजत जयन्ती स्मारिका सार्वजनिक गरे । समाजले आफ्नो वार्षिक साधारणसभामा ४ ज्येष्ठ नागरिक चिरञ्जीवी श्रेष्ठ, उपेन्द्रराज पन्त, बमबहादुर छन्त्याल र रामप्रसाद पाण्डेलाई सम्मान गरेको छ ।
कार्यक्रममा प्रेमप्रसाद स्मृति र हरिलाल कँडेल स्मृति अक्षयकोषबाट विभिन्न विधाका विद्यार्थीलाई पुरस्कार प्रदान गरियो । समाजका अध्यक्ष ठाकुरप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव गंगाबहादुर पुनले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष बालकृष्ण सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।




