डरले गुजुल्टो पारेका रहरहरूका
बटन खोलिदिन्छे
एक एक गर्दै उघ्रिन्छन् आशाहरू
बन्द भएको मनको ढोका उघारिदिन्छे
झोलिन नदिई बाँधेर राखेका सपनाहरू
सलबलाउन थाल्छन् यताउता
बिस्तारै
त्यो ढोकाबाट प्रवेश गर्छ एउटा सानो कीट
जसले उसलाई कुटुकुटु खान्छ
निधार
अधर
घाँटी हुँदै
झुन्डिन्छ
चमेरो झैँ
मासुका लोलामा
प्रकृति यसलाई जैविक आवश्यकता भन्छ
तर,
ऊ यसलाई प्रेमको नाउँ दिन्छे
स्वर्ग के हो?
कस्तो हुन्छ?
अथवा
छ! छैन?
केही नजानी
‘प्रेम एउटा स्वर्गीय अनुभूति’ भन्छे
अनि रुझ्न खोज्छे प्रेमको वर्षामा
वर्षा? कि अम्ल वर्षा?
यहाँ ज्ञान शून्य छ
प्रेम र प्रयोजनबोधको
माखेसाङ्लोमा अझ्लेको छ विवेक
मन दगुरेको छ भ्रान्त खुसीको पछि
विज्ञानचाहिँ यथार्थको पाठ पढाउन खोज्छ
पी.एच. स्तर कम भएको वर्षालाई
अम्ल वर्षा भन्छ
जसको प्रभाले
बिस्तारै माटाको उर्वरता घट्दै जान्छ
पानीको विशुद्धता हराउँदै जान्छ इत्यादि
अनि
नरमाया
खिया लागेर पाप्रैपाप्रा भएका
प्रेमरूपी घाउमा
लेसिलो मलहम लगाउँदै
फेरि यथावत राखिदिन्छे
भड्किएका रहरहरूलाई
अनि एउटा लामो प्रश्न तेर्साउँछे आफ्नै सामु _ यदि कामनापूर्ति नै प्रेम हो भने किन प्रेमलाई स्वर्गीय भन्छन् ? किन यसलाई दुई आत्माको मिलन भन्छन् ? यीनै प्रश्नको हल निकाल्न सफल भएका छन् आजका कैयौँ नरमाया उनीहरू भन्छन् __
“चिन्नु, नचिनाउनु,
नाइँ नर माया।”




