भोलि जे पनि हुनसक्छ
नफुलेको फूल फुल्नसक्छ
नखुलेको आकाश खुल्नसक्छ
भोलि
अधुरो सपना पूरा हुनसक्छ
वा पूरा भएको सपना
क्षणमै भत्किन पनि सक्छ
भोलि
सफलताको शिखर चुम्नसक्छ
त्यही शिखरबाट
लडेर झर्न पनि सक्छ
भोलि
सोचेभन्दा राम्रो हुनसक्छ
वा सोचेभन्दा
नराम्रो पनि हुनसक्छ
त्यसैले
आजै हिसाब नगर्नुस् भोलिको
आजै निष्कर्ष ननिकाल्नुस् भोलिको
नपत्याउने खोलाले पनि
कहिलेकाहीँ बगाउन सक्छ
किनकि
अनुमानले होइन
समयले लेख्छ भोलिको कथा
र सम्झनुस
आजको सानो पाइला नै
भोलिको ठूलो मोड बन्न सक्छ
वा बेवास्ता गरिएको यही पलले
कथा अर्कै दिशामा मोडिन सक्छ
भोलि जे पनि हुनसक्छ !
भोलि केही नहुन पनि सक्छ !!




