४ निवर्तमान मन्त्रीः हिजो ढाँटको खेती, आज मतको खोजी

शनिबार शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन मंगलबार म्याग्दी पुगे । आविष्कार केन्द्र चलाएर उदाहरणीय काम गरेका पुन फेरि पुरानै काममा फर्किएको धेरैको अनुमान त्यति बेला फेल भयो, जब उनी निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराए । स्वतन्त्र उम्मेदवारी दिएका पुन निर्वाचनमा होमिएका छन् । आइतबार खेलकुद मन्त्री बब्लु गुप्ता र सोमबार सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका छन् । त्यसअघि नै राजीनामा दिएका कुलमान घिसिङ उज्यालो नेपाल पार्टी बनाएर काठमाडौं ३ बाट मैदानमा छन् ।

देश संकटमा परेका बेला नागरिक सरकार दाबी गरिएको सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्का चार सदस्य अहिले चुनावमा उम्मेदवार छन् । कुनै पार्टीको सदस्यता नलिएको, चुनाव गराउने लक्ष्य भएको बताउने मन्त्रीहरु एक्कासि चुनावमा होमिएको जस्तो देखिएको छ । तर वास्तवमा त्यसो भएको होइन । पूर्वमन्त्रीहरुले सरकारलाई उपयोग गरेका हुन् । हिजोसम्म जनतालाई दलीय संलग्नता नभएको भनी ढाट्ने उनीहरु अब जनताकै अदालतमा हाजिर छन् । जनताको न्याय फागुन २१ पछि देखिने नै छ ।

महावीर माघ ४ गते राति सांसदको चुनाव लड्ने सोच बनाएको र ६ गते निर्वाचनमा होमिएको दाबी गर्छन् । उनी भन्छन्, ‘मैले तीन–चार वटा अध्यादेश र नियमावली ल्याउन खोजेको थिएँ । त्यो पूरा भइदिएको भए म यो चुनाव लड्ने थिइनँ ।’ मन्त्रालयमा हुँदा पुनले देखिने र शैक्षिक व्यवस्था परिवर्तन हुने कुनै काम गरेनन् । मन्त्रालयकै एउटा कोठामा बस्छु भनी उट्पट्याङ गरिरहे ।

उनले यतिचाहिँ गरे कि स्वतन्त्र छवि जारी राखे । जगदीश खरेल, बब्लु गुप्ताजस्तो रास्वपामा लागेनन्, स्वतन्त्र उम्मेदवार बने । कुलमान जस्तो रास्वपाको नेता भइसक्दा पनि पार्टीमा छैन भनेनन् । मनोनयनको २ दिनअघिसम्म पनि ‘अहिलेसम्म म चुनाव लड्ने निर्णयमा पुगेको छैन’ भन्ने पूर्वपत्रकार जगदीश खरेलले अन्तिम क्षणसम्म जनतालाई ढाँटीरहे । नागरिकबिच लोकप्रिय मानिएका र जेनजीहरुले समेत पत्याएका ठानिएका मन्त्रीहरु नै ढोंगी र झुट देखिए । मिलेसम्म अन्तिम क्षणसम्म कुर्सीमा बसिरहने पुराना पार्टीका नेताहरुको जस्तै रोगबाट उनीहरु पनि ग्रसित रहे ।

सरकारका प्रवक्तासमेत रहेका खरेल ललितपुर ३ बाट उम्मेदवार बनेका छन् भने जेन–जीको प्रतिनिधिका रूपमा मन्त्री बनेका बब्लु गुप्ता सिरहा १ मा उठेका छन् । ठूलो बजेट भएका तीन मन्त्रालयको बागडोर सम्हालेका कुलमान प्रधानमन्त्रीले राजनीति गर्नेले मन्त्री छोड भन्दा भनिरहेः म अहिलेसम्म कुनै दलको सदस्य भएको छैन । सयौं ठेक्का तोडेका कुलमानले कसरी नयाँ ठेक्का लगाउने र विकास योजनालाई तदारुकताका साथ सम्पन्न गर्ने भन्नेतिर ध्यान दिएनन् ।

प्रतिशोध साँधेर नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितमान शाक्यलाई हटाउनतिर लागे । जसलाई सर्वाेच्चले उल्ट्याइदियो । दुई पटक प्राधिकरणको प्रबन्ध निर्देशक हुँदा लोडसेडिङ हटाएको जस पाएका कुलमानको ऊर्जा मन्त्री बन्दाको अवधि सम्झन लायक रहेन । आफू संरक्षक बसेर उनले बनाएको उज्यालो पार्टी रास्वपासँग एकीकरण भयो, उनी दलका कार्यक्रममा देशभर गए, तर आफ्नो पार्टीगत संलग्नता अस्विकार गरिरहे । उनी भन्थेः अतिथि बनेर गएको हुँ, अरुले पनि बोलाए जान्छु ।

अहिले प्रमाणित भयो कि उज्यालो नेपाल उनकै पार्टी हो, अध्यक्ष उनै बने । नागरिक सरकारका चार मन्त्रीहरुले समाजले पत्याएका र आफ्नो क्षेत्रमा अब्बल ठानिएकाहरु पनि अवसरवादी हुन्छन् भन्ने उदाहरण बनाएर गएका छन् । चुनावको मुखमा आचारसंहिता लागिसकेपछि सरकार छाडेर चुनावमा धेरै मन्त्री होमिएपछि सरकार अप्ठेरोमा परेको छ । नैतिक धरातल बिर्सने, जनतालाई झुक्याउने र निहित स्वार्थ पूरा गर्ने पुरानै दलका रोग लिएर चुनावी मैदानमा गएका यी निवर्तमान मन्त्रीहरुको परीक्षा चुनावमा हुने नै छ ।