लोककविकी नातिनी सांसद बन्ने यात्रामा

पोखरा–१३ को मियाँपाटन भन्नेबित्तिकै हरकोहीले सम्झन्छः लोककवि अली मियाँ । लोककविको निधनपछि उनको योगदान र कृतिलाई सर्वसाधारणसम्म लैजान अली मियाँ लोक वाङ्मय प्रतिष्ठान क्रियाशील छ । यही मियाँपाटनमा जन्मे, हुर्केकी लोककविकी नातिनी समिउन निशा भने यसपालि जनप्रतिनिधि बन्ने लक्ष्यमा छिन् । सामुदायिक स्वास्थ्य, महिला तथा बालबालिकाको हित, विपद् व्यवस्थापन र सामाजिक न्यायका लागि एक दशकभन्दा लामो समयदेखि क्रियाशील निशा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पोखरा १३ को वडा सभापतिसमेत हुन् ।

रास्वपाले उनलाई फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनामा समानुपातिक सूचीमा राखेको छ । अघिल्लो निर्वाचनमा समेत समानुपातिकको बन्द सूचीमा रहेकी उनी त्यस बेला निर्वाचित हुन सकिनन्, यसपालि भने जित निकाल्ने उनको ध्येय छ । बिएएलएलबी अध्ययन गरिरहेकी उनी देश निर्माणमा नयाँ र युवाको नेतृत्व आवश्यक हुने ठान्छिन् ।

मौला टोल विकास संस्थाकी सचिव उनी नेपाल रेडक्रस सोसाइटी, परिवर्तन नेपाल, पहिलो पाइला नेपाल, अटेरी अभियान, लायन्स क्लब अफ पोखरा मिडटाउन, कास्की जिल्ला महिला स्वयंसेवक नेटवर्क जस्ता संघ, संस्था र अभियानमा समेत सक्रिय छिन् ।

देशमा नयाँ शक्तिको आवश्यकता, युगको अपेक्षा र एजेन्डाका कारण रास्वपाको जित निश्चित भएको उनको भनाइ छ । ‘देशले अहिले नयाँ शक्तिको नेतृत्व, एजेन्डा र परिवर्तन खोजेको छ,’ उनी भन्छिन्, ‘समयको यो वेगलाई कसैले रोक्न सक्दैन । जनताले रास्वपालाई बहुमतसहित सरकारको नेतृत्वमा पठाउनेमा विश्वस्त छु ।’ महिलामा पनि मुस्लिम महिलाको क्लस्टरबाट उम्मेदवार बनेकाले निर्वाचित भएमा त्यो समूहको हित, सशक्तीकरणसँगै समग्र देश र देशबासीको हितमा दत्तचित्त भएर लाग्ने उनको प्रण छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।