देशभर चुनावी माहोल छ । नयाँ र पुराना दुवै खालका पार्टीहरु चुनावको तयारीमा छन् । युवा व्यवसायी एवं समाजसेवी झविलाल डुम्रे पनि यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट स्याङ्जा २ मा उम्मेदवार बन्न चाहन्छन् ।
रास्वपा केन्द्रीय संगठन विभाग सदस्यसमेत रहेका डुम्रे विभिन्न एजेन्डासहित स्याङ्जा क्षेत्र नम्बर २ मा उम्मेदवारका आकांक्षी बनेका हुन् । स्याङजाको वालिङ–१४, छोरेखर्क स्थायी घर भएका ३२ वर्षीय डुम्रे युवाको आकांक्षा सम्बोधन गर्नु मुख्य एजेन्डा भएको बताउँछन् ।
‘यो यात्रा पद, शक्ति वा प्रतिष्ठाका लागि होइन । म जनताका पीडा, आवश्यकता र न्योचित माग सिंहरबार पु¥याउन चाहन्छु,’ उनी भन्छन्, ‘ती माग सम्बोधन गरी हाम्रै पालामा देशलाई समृद्ध र युवालाई देशमै बस्न लालयित हुने बनाउनुछ ।’ ग्रामीण विकासमा स्नातकोत्तर गरेका उनी पोखरामा आइटी र हस्पिटालिटी व्यवसायमा आवद्ध छन् ।
सँगसँगै उनी लायन्स क्लब, युवा क्लबहरुमा आवद्ध भई सामाजिक क्षेत्रमा समेत क्रियाशील छन् । जनताले बोल्नेमात्रै होइन, काम गर्ने मान्छे खोजेको उल्लेख गर्दै उनी नयाँ पुस्ताको इमानदार, उत्तरदायी र काम गर्ने नेतृत्व स्याङ्जा २ लाई दिने प्रतिवद्धता व्यक्त गर्छन् । अघिल्लो चुनावमा रास्वपाबाट समानुपातिकको बन्दसूचीमा परेका उनी सभासद भने बन्न पाएनन् ।
उनी स्याङ्जाकै विशेषताले आफूलाई अघि बढ्न प्रेरित गरेको जनाउँछन् । ‘भीरकोटका ढुंगामय बाटोले सिकाएको धैर्य, वालिङको विविधताले सिकाएको सहिष्णुता, गल्याङको सम्भावनाले जगाएको आशा,’ उनी थप्छन्, ‘कालिगण्डकीको अविरल प्रवाहले दिएको ऊर्जा र चापाकोटको माटोले भरेको आत्मीयताले मलाई निरन्तर अगाडि बढ्ने बल दिएको छ ।’
युवाको भविष्य सुरक्षित र सम्भावनायुक्त बनाउने, शिक्षादेखि स्वास्थ्यसम्म गुणस्तरीय सेवा पहुँच सुनिश्चित गर्ने पार्टीको एजेन्डाका कारण आफूहरुले जित्ने उनको भनाइ छ । सिद्धार्थ राजमार्ग तथा ग्रामीण सडक सञ्जाल सुदृढ गर्नेदेखि आँधीखोला ड्याम, पर्यटन र स्थानीय रोजगारीलाई प्राथमिकता दिँदै ग्रामीण क्षेत्रमा दिगो विकासको ठोस आधार निर्माण गर्ने उनको वाचा छ ।
रास्वपाले लामो प्रक्रियामार्फत् उम्मेदवार छनोट गर्ने गरेको छ । पुस २६ गते रातिसम्म उम्मेदवारले आकांक्षा व्यक्त गर्दै फारम भर्ने म्याद छ । त्यसपछि छनोटका अन्य चरण सुरु हुने छन् । स्याङ्जा २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वपाबाट अहिलेसम्म तोयानारायण पौडेल र डा तुलसी खनालले समेत आकांक्षा सार्वजनिक गरेका छन् ।




