पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुविधासम्पन्न पिआइसियु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि सुविधासम्पन्न बाल सघन उपचारकक्ष (पिआइसीयु) सञ्चालनमा आएको छ ।

प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित ८ शड्ढयाको उपचारकक्ष औपचारिक रूपमा सञ्चालनमा ल्याइएको अस्पतालका बालरोग विभागका प्रमुख डा रामचन्द्र बास्तोलाले जानकारी दिए । सामान्य अवस्थाबाहेक गम्भीर अवस्थामा विशेष निगरानीमा राखेर उपचार गराउनुपर्ने बच्चाहरूलाई सघन उपचारकक्ष (पिआइसीयु) अनिवार्य हुने भएकाले यो सेवा अस्पतालले सुरु गरेको हो ।

अस्पतालले बाल सघन उपचारकक्ष बारेमा नै विशेषज्ञता हासिल गरेका चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार गर्नेगरी बाल सघन उपचार कक्षको सिङ्गो युनिट सञ्चालनमा ल्याएको छ । सो कक्षमा सात शड्ढया दुई महिनाभन्दा ठूला बच्चाका लागि र एउटा सो भन्दा साना बच्चाका लागि प्रयोगमा ल्याइनेछ ।

सिकिस्त अवस्थाका बिरामीलाई सामान्य वार्डमा राखेर उपचार गराउँदा जोखिम बढी हुने र संक्रमण फैलन सक्ने भएकाले पिआइसीयूमा राखेर उपचार गराउनुपर्ने हुन्छ । ‘भेन्टिलेटर, बाइप्याप लगायतका अत्याधुनिक उपकरण, विशेषज्ञ डाक्टरसहितको पिआइसीयु सञ्चालनमा ल्याउने हाम्रो प्रयासले सार्थकता पाएको छ ।

यसमा डेडिकेटेड जनशक्ति हुन्छ । यसबाट गम्भीर अवस्थाका बच्चाहरूलाई उपचारबाट अन्यत्र फिर्ता पठाउनुपर्ने अवस्था अन्त्य भएको छ’, बास्तोलाले भने ।
यस उपचार कक्षका लागि प्रतिष्ठानले एक जना बालरोग विशेषज्ञसहित ११ जना चिकित्सक, तालिम लिएका १३ जना स्टाफ नर्स र ३ जना कार्यालय सहयोगीको व्यवस्था गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा यसअघि रहेको पिआइसीयुमा आवश्यक जनशक्ति र उपकरण थिएन । जसका कारणले राम्रोसँग पिआइसीयु सञ्चालनमा आउन सकेको थिएन ।

बालरोग विभाग प्रमुख डा बास्तोलाले भने, ‘पहिलाको पिआइसीयू नाममात्रको थियो । यसैका लागि भनेर जनशक्ति थिएन, अन्य विभागबाट बोलाउनुपर्ने थियो । चाहेर पनि बच्चालाई भर्ना गर्न सकिएको थिएन । अहिले बालबालिकाका लागि नै ‘डेडिकेटेड’ उपचारकक्षा सुरु गरिएको हो ।’

जटिल र गम्भीर अवस्थाका बिरामीलाई २४ सैं घण्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गराइने विशेष कक्ष पिआइसीयु हो । जहाँ चिकित्सक, नर्स, कर्मचारी र बिरामीबाहेक अरुलाई आवतजावत गर्न निषेध गरिने अस्पतालले जनाएको छ ।