सुरजको सिर्जनामा विनोदको स्वर

गीतकार सुरज उपाध्यायको रचना र गायक विनोद बानियाको स्वरमा रहेको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो शनिवार सार्वजनिक भएको छ । गीतकार प्रतिष्ठानद्वारा पोखरामा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठले भिडियो सार्वजनिक गरेका हुन् ।

गीतमा संगीत पनि गायक बानियाकै छ । विदेश जाने क्रम बढिरहेको अवस्थामा स्वदेशमै दुःख गरेर भए पनि बाँच्नुपर्ने भाव समेटिएको गीतले नयाँ पुस्तालाई विदेश जानबाट किन रोक्न सकिएन भन्ने प्रश्न उठाएको छ । गीतकार उपाध्यायले ग्रामीण जीवनको यथार्थ घटनाबाट प्रेरित भएर लेखिएको गीतले मनोरञ्जन मात्र नभई सन्देश पनि दिने विश्वास व्यक्त गरे ।

गायक बानियाँले आफूलाई मन परेको गीतमध्ये यो पनि एक भएको भन्दै गीतले आम दर्शकलाई मात्र होइन, सत्ता सञ्चालकलाई समेत एक पटक सोच्न बाध्य बनाउने धारणा राखे । उनले सुरजको गीतले आफ्नो मन छोएकाले गीत तयार पारिएको अनुभव सुनाए ।

गीतकार तीर्थ श्रेष्ठले विनोद र सुरज पोखरामै बसेर नेपाली साहित्य र संगीतका लागि गरेको योगदान अविस्मरणीय रहेको बताए । गीत लेखन कष्टकर यात्रा भएको भन्दै उनले गायक तथा संगीतकारले यो मर्मलाई बुझेर प्रस्तुत गर्दा मात्र आम स्रोताले मन पराउने विचार राखे । उनले यो गीतका शब्दमाथि गायन, दृश्यांकन र अभिनयको तालमेल मिलेकाले पनि सफल बन्ने विश्वास व्यक्त गरे ।

प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कलाकार तथा निर्देशक अनुप बराल, अर्का कलाकार प्रकाश घिमिरे, म्युजिक भिडियोका निर्देशक नेत्र गुरुङ र सचिव रुपिन्द्र प्रभावीले बोलेका थिए ।

काव्यालयका लागि विक्रम कार्कीको प्रस्तुति रहेको गीतमा कार्कीसँगै सुषमा श्रेष्ठको अभिनय, मिलन शंकरको छायाङ्कन तथा राजेश विष्टको संगीत संयोजन छ ।