कविताः हाम्रो देशको नारी दिवस

संसारले मनाउँदै छ विश्व नारी दिवस आज ।
खै किन न्याय दिन्न हाम्रा चेलीलाई यो समाज ।।
अरु देशका नारी पुगे चन्द्र छुन रकेट चढी ।
हाम्रा नारी चुलोचौको घरधन्दा मै ब्यस्त बढी ।।

निर्मलाको शरीर लुट्दा बोलेनन् यहाँ कोही कलाकार ।
सहमति कै सम्बन्धलाई भन्दैछन् रे हो बलात्कार ।।
घरको काममा सधंै एक्लै हाम्रा नारीहरु यहाँ ।
फेसबुक भरी नारी आदर्शका कुरा भइरहेछन् कठै त्यहाँ ।।

१३ बर्षे त्यो बालापन स्कुल जाने खुसीको पन ।
लुटिदियो बिद्यालयले शरीरसँगै इज्जतको धन ।।
मिडियाहरु अघि सर्ने भ्युजका लागि जे पनि गर्ने ।
१३ बर्षे शालिन पोखरेल बलत्कृत भई मर्नु पर्ने ।।

घरबाटै हेला भइन् साथ माग्न माइती गइन् ।
समाजले बुझिदिन्न आखिर उनी एक्लै भइन् ।।
तिम्री आमा एउटी नारी शितल दिने हुन् छहारी ।
आमा जस्तै दिदिबहिनी लुटिन्छन् यहाँ एक्लै पारी ।।

हुनेखानेलाई सम्मान गरिबको अपमान ।
पिडितले न्याय पाउन्न सुनेन अदालतले कान ।।
नारीबाटै नारी पिडित समाजले गर्छ घृणित ।
निर्मलाको परिवार सधैंभरी भयो पिडित ।।

राष्ट्रप्रमुख हुँदा नारी आशाको दियो बल्दा खेरी ।
न्याय दिनुपर्ने बेला कान थुनेर सुत्दा खेरी ।।
दुई छोरीकी आमा उनी किन भइन् त्यति खुनी ।
सपथ खाँदा बाचा गरिन् सँगै हास्नी सँगै रुनी ।।

नाचगान गरी मनाए जनता बेकुफ बनाए ।
आजकल किन अदालत र नेता सबै गनाए ।।
नारीले नै नारीको दुःख बुझ्ने छैनन् जबसम्म ।
नारी दिवस मनाउनुको अर्थ रहँदैन तबसम्म ।।

कलिला नानी लुटिराछन् सिसा जस्तै फुटिराछन् ।
अपराधीले बिटा बाँडी सजायबाट छुटिराछन् ।।
कति गरौं नारी तिम्रो सम्मानमा कुरा मैले ।
बुझिदिन्छ देशले तिम्रो मनको कुरा कैले ।।

छोरीलाई रुन दिन्न बुहारीको कदर हुन्न ।
छोरी भोलि बुहारी हो तपाईं किन बुझ्नुहुन्न ।।
श्रीमानबाटै हेपिएका कति नारी छन् है यहाँ ।
उसकै श्रीमान नारी दिवसको शुभकामना दिन्छ त्यहाँ ।।

कहिलेसम्म हाम्रा नारी स्वतन्त्र भई हिँड्न पाउँछन् ।
दिदिबहिनी एक्लै हिँड्दा पापीहरु पछि लाउँछन् ।।
तिम्रो संरक्षणका लागि सधैंभरी लड्न पाउँ ।
अन्यायको बिरुद्धमा कलम चाल्न सधैं पाउँ ।।