मेरो बुझाइमा “थोपो र मरुभूमि”

जीवनका विभिन्न परिवेशबाट हृदयमा भरिएका अभिज्ञता,उकुस-मुकुस अनुभूतिहरूले कविमन जब पिरोलिन लाग्छ,उर्लिएर आएका शब्दहरूले पोखिने बाटो खोजि हिँड्छन अनि काव्यकारका सृजनशील कलमबाट तिनै शब्दहरूले काव्यिकताको सुन्दर रूप लिदै कवितामा मूर्तमान हुन्छन ।जीवनका घात-प्रतिघात,आनन्द-विषाद,दु:ख-कष्ट,व्यर्थता आदिले धेरैजसो कविमनहरूलाई सरल र संवेदनशील बनाएको हुन्छ।साधारण पाठक का मनमुटु हरूले कविता भित्र आफुलाई अनुभूत गर्ने गरि अनुपमप्रकाशभङ्गीमा’अन्तिम’ बाटै शुरु भएको कविता संग्रह”थोपोरमरूभूमि”एक सफल कवि, कथाकार,निबन्धकार,समालोचक साथै साहित्यमा रुचि लिने नयाँपिँढीलाई तत्काल सहयोग गर्न हरदम् तयार रहने विशिष्ट साहित्यकार रुद्र बरालको अन्यतम उत्कृष्ट कृतिले नेपाली साहित्यको भँडार गहकिलो पार्न सफल् भएको छ ।
संग्रह भित्रका कविताहरू पढ्दै जाँदा कतिपय कविता विम्बात्मक प्रयोगशालामा सिँगारिएका छन भने निपुण कवि बरालको कलात्मक प्रतिभाका साथै सरल शब्द ,भाषा-शैलीले संग्रह भित्र समेटिएका 39वटा कवितामा 39वटै अत्यन्त सरल,गहन र मनोग्राही भएका छन्।
जीवनमा केही कमाएका र केही गुमाएका अनुभूतिहरू सलवलाउन लागेपछि कलमबाट बग्रेल्ती पोखिएका शब्दमाला पैर्याउँदै कवि बरालले ‘अन्तिम’ कवितामा जाँगर र लगनशीलता भए मान्छेले गर्न नसकिने के हुन्छर भन्दै सकारात्मक सन्देश दिएका छन् यसरी –
‘यात्रा सकिएपछि
लक्षस्थान बाट फेरि थाल्न सकिन्छ नया यात्रा
हिँडन सकिन्छ उत्तिकै बाटो फेरि फेरि
जसरी
अन्तिम पराजय पछि
फेरि अर्को प्रतियोगिता लड्न सकिन्छ
फेरि जित्न सकिन्छ अर्को पुरस्कार’

आशावादी कविले यो पाला शब्द बटुल्न अघि विश्वास बटुलेका छन । “शब्द बटुल्ने अघि विश्वास बटुलेको छु” कवितामा ‘हल्ला बोल्ने हरूलाई त पङ्तिबाट परै राखिन्छ’ भन्दै प्रतिवादी कण्ठको उद्गार गरेका छन् ।साथै कविका अनुभव हरूमा जोडिएका गहन शब्द शिल्पले प्रकाशभङ्गीमा सचेतनताबोधको झलक पनि उत्तिकै देखा परेको छ।
अरु सवैले भने झैँ कवि बराल ले पनि श्रमिकहरूलाई सृष्टिकर्ता
ब्रह्मासँग रिझाएका छन ।तर समग्र विश्व भरीमै ईनी ब्रह्माहरू भने आजपनि उपेक्षित र अवहेलित भएरै बाँच्नु परेको छ।मे-डे मा ‘डाँडामा घाम रहे सम्म’ प्रसंशित हुँदै वर्षभरीका सवै पीडा थकान बिर्सिदिने श्रमिकहरूका पीडा सङै पीडित् कविले “मे-डे” कवितामा यसरी पीडा व्यक्त गरेका छन् –
‘ दिनभरिका आन्तरिक शुभकामनाहरू
अथवा ,
प्रशंसा र गुन-गरिमाका प्रवचनहरू ,
अस्मिता र अधिकारका नाराहरू
बेलुका रित्ता भाँडामा प्रतिध्वनित हुँदै
चिसो चुल्होमा गएर आत्महत्या गर्छन्
प्रत्येक मे-डे मा ।’
विवश ,निम्सरा र भोकाएका श्रमिकहरूका मे-डे का घाम अस्ताएनै आउने भोलिको बाध्यताले पिरोलेको कवि मन हताश हुन्छ–
‘ उ अव छिटो उठ्न चाँडो सॅत्नु छ
भोलि ‘मे’ मात्र हो
उस्को ‘डे ‘फेरि अपहृत हुनेछ ‘
सर्वसाधारण मानिसहरू सधैँ शान्तिपुर्ण वातावरणमै रमाउँन चाहाँन्छन् तर शान्तिकामी जनताको वास्तै नगरि शक्तिशाली हरूले निष्ठुर भएर युद्ध छेडि मानवता ध्वंस गर्छन्।सदा शान्तिकामी कविले युद्धको बिरोध गर्दै “युकान” कवितामा गुनासो पोखेका छन्-
‘युद्धको मैदानमा
फुल टल्किदैन
आगो दन्किन्छ
चाहे जस्ले जितोस युद्ध
युद्धमा मानवता परास्त हुन्छ’ ।
कविता “राजा जोगाउँने चाल” मा कवि बराल ले सिपाही सारेरै प्रतिपक्षलाई हराउँने इङ्गितले व्यङ्गात्मक प्रहार गरेका छन्। “प्रेमको कथा”मा निशब्दै प्रेम बोलेको छ भने उता जन्मदेखि मृत्यु पर्यन्त मान्छेको जीन्दगीलाई निर्देषण, नियन्त्रण र सन्चालन गर्ने डरले “फियर साइकोसिस”मा कविलाई जीन्दगीका सवै पाटामा डरले सर्वत्र छाएर थुरथुरी बनाएको छ।डरको चेपारोभित्र गुम्सिएको कवि मनले इतिहासमा हिटलरकोप्रेत देख्नलागेको छ –
‘ इतिहास बाट ब्युँझिएर आँउछ हिटलरको प्रेत
घरी घरी तर्साउँछ औँसीको सुनसान रात
भ्रम र यथार्थको सँघारमा
कोजाग्रत बस्छ अशान्त मन।’
अशान्त मनभित्र डरले कति पिरोलेको हुन्छ ,र त कवि भन्छन्-
‘केवल डर-
शान्ति गुमाउने डर
भविष्य रङ्याउन नसक्ने डर
अस्मिता लुटिने डर
भोकमारीसङ पराजित हुने डर
दुषित वातावरणले पृथ्वी खरानी पार्ने डर
युद्धको डर
उग्रवादको डर
दलालको डर
ढाँटिने डर
डर डर सर्वत्र डर’
“पैँचो”, “साँझ” , “पारिस्थितिकी तन्त्र” , “आशाको पेरुङ्गो रित्ताको रित्तै” जस्ता थोरै सब्दमा समेटिएका कविताहरूले कविमनको अत्यन्त गहिरो अनुभुति प्रष्टै बोकेका छन, अतिनै अर्थवहुल भएर झाँगिएका छन। अझ “थोपो र मरुभूमि” का मरुद्यानमा रसाएका एक एक थोपाले उर्वरता फैलाउँदै कृतिको अनुहार सजाइ गहकिलो ,आकर्षणीय बनाउँन सक्षम् भएको छ ।
यसरीनै संग्रहभित्र कुनै लामा कुनै छोटा कुनै धेरैनै छोटा भएतापनि कविताहरू सबैनै सरल शब्दका प्रयोगले चखिला भएका हुनाले मलाई लाग्छ पाठकवर्गले अन्त:करणले रुचाउने छन् अनि आफुमापनि जाँगर भराउँदै लेखन सम्बन्धमा उर्जा बटुल्ने प्रयास गर्ने छन् ।
मानव कल्याणको निम्ती आजीवन त्याग स्वीकार गर्ने कृषकहरूको अवदान का साथै “पुरानो भोटो” मा कविले हजारौँलाई आफु अगुवा लागेर अँध्यारो फाँड्दै उझ्यालो बाटो देखाउँने ,सवैमा समान दृष्टिले पुर्ण मानव सृष्टि गर्ने शिक्षक को महानता व्यक्त गरेका छन् भने जीवनमा सम्मुखीन भएका घात-प्रतिघात का हुरीले उदाङ्गो बनाउँन खोजेपनि ‘शिक्षक’ नामको सम्मानीय उपाधिले सधै सुरक्षित अनुभव गरेको भान हुन्छ ।”अपाङ्तेय” कवितामा कवि बराल भन्दछन् विश्वचराचरमा जड,चेतन सवैको आ-आफ्नो विशेसता हुन्छ।उस्को आफ्नो प्रकृतिलाई कुनैपनि बाधाले विनष्ट पार्न सक्ने छैन,उस्ले समयमा आफ्नो विशेषता प्रकट गर्ने नै छ । त्यसरिनै “हरबर हरबर तोरीको फुल” मा
‘काउकुती नलाग्नपनि
उमेर पर्खिनु पर्छ’
भन्दै कवितामा उत्रिएका शब्दहरू द्वारा आशावादी कवि भन्छन् जीवनमा आफुले भोग्दै आएपछि विश्वास-अविश्वासको यथार्थ समयमा मात्र थाहा लाग्दछ ।
“धत्तेरि” ले जीवन र जगतका परस्पर विपरीत चिन्तन र भोगाइहरूमाथि गहिरो भावार्थ बोकेको छ भने “नि:शब्दता” मा नि:शब्दै शब्दहरू बोलेका छन् ।
“रुख र जरा ” “मेरो घरको काठको झ्याल” जस्ता पर्या कवितामा पृथ्वी माथि जीवश्रेष्ठको विवेकहीन कार्यमा धरतीरोगाएको देखेर कविको अन्तरात्मा सारै रोएको छ
“अनुभव एक युद्ध क्षेत्र”मा कविले विगत दिनहरूका विफलता बाट पाएको शिक्षाको ऊर्जाले आउँदा दिनहरूमा सफलताको शिखर चढ्ने वाचा गरेका छन् । उता विम्व प्रयोग गर्दै “आगो” कवितामा आगो त आगै हो कुनै खेल सामग्री होइन,सद्व्यवहार गरे शक्ति नत्र विनाश भन्दै आगो व्यवहारमा होशियार रहने चेतावनी दिएका छन् ।

       मान्छेको कौतूहली मस्तिस्कको सृष्टिमा प्रभावित 

भएको प्रदूषित वातावरणले छोपि सकेको पृथ्वीबाट उद्भिद तथा प्राणीकुल क्रमश मासिन लागेको र आगन्तुक दिनहरूमा अझ विषालु हावा पानीले वातावरण अरु विशाक्त हुँदै आएको पीडा यस प्रकार पोखेको छ “भावीकालको वसन्त”ले –
वसन्त फेरि आँउछ बाबा
वर्ष नबिराइ आँउछ
एकडोको प्लास्टिकका फुलहरू बोकेर
चराका रित्ता गुँडहरू हेर्न
रुखका न्यास्रा अनुहार हेर्न ।
बाध्यताले मानिसलाई दुःख कष्ट झेल्न सिकाउछ, कर्तव्यबोध सम्झाउँछ अनि अदम्य साहसीपनि बनाउँछ ।
“एउटा प्रेमको कथा र ढिकीको बाद्ध्यता” मा कविले भनेका छन-
भुँडीको आगो निभाउन
सागरमा पनि हामफाल्न तैयार छन
जीवनका अनुभवहरू
विश्वास माथि अविश्वासले प्रहार गरेपछि परिवर्तन हुन बाध्य भएको कवि मनलाई विगत दिनहरूका नमीठा स्मृतिले झकझकाएको छ अनि अठोट गराएको छ आउँदा दिनहरूमा मुक्त पंक्षी सरह बाध्यताको घेरा बाहिर आफ्नै रङ् मा रमाउन । “महाविस्फोटक पछि” ले अटसमटस गुम्सिएका अभिव्यक्ति पोखेपछिको एउटा विशेस परिस्थितिको चित्रण गरेको छ। “रङोत्स्व” ले मानिसमा अनुहार नचिनिने गरि समानता ल्याएको छ ।
कविले नारीहरूलाई कहिलै बुझ्न सकेनन रे।उनी भन्छन –“यी नारीहरूका कुरा मैले केही बुझिनँ
के खोजेका ,के मागेका ,के गर्न चाहेका
उद्येश्य के हो ,आशय के हो
गुनासो हो
कि आक्रोश हो
ठ्याम्मै बुझिनँ”
नारी अथवा पुरुषमा कोही एक नभएनै मानिसमा सान्सारिक गतिरुद्ध हुन्छ।तर नारीले भने सँधै असन्तुष्टि व्यक्त गरेका छन् भने अर्कोतिर पुरुषहरूमा पुरुष मानसिकताको अहम देखिएको छ ।कवितामा यही पुरुष मानसिकताको अहम माथि कविले व्यङ्गात्मक प्रहार गरेको देखिन्छ ।
समग्र विश्वलाई ज्योतिस्मान बनाउने घामलेपनि प्रकृतिको नियम मान्नुपर्ने बाध्यतामा भोलि फर्कने बाचा गर्दै अस्ताई दिन्छ “बाध्यता” मा । त्यसैगरि “नया”ले कल्पना र यथार्थको फरक देखाएको छ।कल्पना त कल्पनै हुन्छ उम्रिन्छ मर्छ,फेरिपनि उम्रिन्छ फेरि मर्छ तर वास्तव कहिलै मेटिदैन ,कहिलै उखेलिदैन ।
बिम्वात्मक शैली प्रयोगमा सिपालु कवि बरालले”घडी र फोटो” कविताद्वारा अतीत र वर्तमानलाई हेर्दै समय र दायित्वको गुरुत्व सम्झायेका छन् ।उनी विगत दिनहरूका स्मृति बोकि छट्पटाउन भन्दा आउने दिनहरूमा समय खेर नफालि अथक् परिश्रम गर्दै नया खोजमा निमग्न हुन रुचाउछन् ।”आफ्नै पाइला”मा कविलाई पुर्वस्मृतिले कता कता भावुक बनाएको देखिन्छ । उनी भन्छन् बाध्यतामा दमित हुनु भन्दा स्वाभिमानले स्व-सृष्टिको पीडा सहनु उचित हो ।निर्धक्क हिँडिरहेको बाटो अनि अघिलाग्ने पाइलामा परिवेशले अडचन् ल्यायेपछि बाध्यताले चुपचाप नया मोड पैलाएका पाइलाले पनि नया परिवेश सजाई प्रगतिको नया खेतमा स्वादिलो फसल उब्जाएर निकाल्न सक्छन् । यस्तै प्रसङ्गविच “बिपरीतमुखी बाध्यता” मा कविताको शिर्षकबाटै अलि अलि भावार्थको अटकल आये जस्तो लाग्ने गर्छ ।उसरीनै कृति भित्र भएका “शीतोत्सव”,”कहानीको पात्र यौवन”,”छेपाराको कथा”,”राजाको उर्दी “,वर्गीकरण”,र “जीवश्रेष्ठ” जस्ता गहकिला कविताहरूले प्रवीणहरूका त कुरै नगरौँ नवीन लेखक -कविहरूका मनलाईपनि कति जाँगरीला बनाउछन सो नपढे सम्म कहाँ थाहा हुन्छ र!

        कुनैपनि   कृति सम्पुर्ण पढि सके पछि त्यो कृतिमाथि पाठकहरूले आ-आफ्ना बुझाई र आ-आफ्ना दृष्टिकोणले हेरेको  र आफ्नै तरिकाले प्रतिक्रया राखेको  या फेरि समीक्षा अथवा  समालोचना  गरेको देखिन्छ ।त्यसरीनै मेरो आफ्नै प्रकारको बुझाईमापनि  धेरैजसो कविताभित्र आफुलाईनै भेटे जस्तो लाग्नेगरि  अत्यन्त सरल भाषाप्रयोगले सृजित् सामाजिक,राजनैतिक, अर्थनैतिक ,कुटनैतिक आदि सबै दिशाका साथै मानवता र मानवीय आचरणका सवै पाटा समेटियेको  कवि रुद्र बरालको अन्यतम उत्कृष्ट  कृति "थोपो र मरुभूमि"  सवैजना साहित्यप्रेमी सर्जक,तथा पाठक वर्गलाई प्रोत्साहन बढाउने  अत्यन्त पठनीय भएको  छ ।