‘तिमी जून जस्तै छौ’
उसको सौन्दर्यको बयानले
मख्ख पर्छे बाटुली
अनि ऐनामा हेर्छे आफ्नो अनुहार
फेरि एकपटक
फेरि एकपटक रमाउँछे।
हो त,
जुनको अनुहारमा देखिने दागहरूको अस्तित्व
बाटुलीको अनुहारमा कतै देखिँदैन
निर्दोष छ उसको शरीर
अनि यही शरीरको रूपसँगै झुन्डिएको छ
उसको अस्मिता
इज्जत
सामाजिक मर्यादा
अदृश्य पर्खालभित्र।
हिजोआज मात्र होइन,
आदौदेखि नै उसको पहिचान गराउँछ
उसको शरीरको अप्रत्याशित अङ्गले
उसको सुन्दरता कहाँ छ?
रूप अथवा गुणमा
अन्योलमा छे बाटुली
अन्योलमै थिइन उसकी आमा
हजुरआमा र हजुरआमाकी हजुरआमा।
उसको नारीत्वको परिचय
उसको शरीर
उसको भेषभूषा
उसको हिँडाइ
उसको हँसाइ
उसको नम्रता
कोमलता
सहनशीलताको पल्लामा छ
उसलाई सम्हाल्न अप्ठारो भएको
उसको लामो केश छोटो पार्दा
उसको ३२ लक्षणको
समाप्ति घोषणा गरिन्छ
अनि घरभित्र
घरबाहिर
उसको छाडापनको ‘टक् सो’
चल्छ।
ऊ नारी हो
उसले तन ढाक्नु पर्छ
दिनभरि गल्ली नुक्कढमा बसेर
उसले सजिलोको लागि लगाएको छोटो वस्त्र
शालीनताहीनताको मापक बन्छ
अनि परम्पराका क्रुर नङ्ग्राले
आहत पार्छन् उसका स्वतन्त्रताका प्वाँखहरू
उता,
प्रत्येक रातहरू
कत्ति लोभी हातहरू
कुनै अँध्यारो कोप्चामा
त्यही वस्त्र फुकाल्ने मौका कुरेर बस्छन्
सतीत्व लुट्नेहरू
सतीत्वको व्याख्यान सुनाउँछन्।
फेरि
लक्ष्मीबाईको स्वरूप
उसको रूपमा देख्दादेख्दै
उसकै सर्वत्र खोस्न
तत्पर रहन्छ एउटा हुल
उसको परिचयको जालोमा
जेलिएको छ बाटुलीको प्रगति
सशक्तिकरणको पुराण
सुनाइरहेका छन्
सुनिरहेका छन् भालुहरू।