एकाबिहानै उठ्छु
मन लाग्छ मन्दिर दर्शन गर्न ।
मेरो गाउँको टोपी
वरिपरि हरियाली
पारी हिमाली वार
हरिहर मन्दिर
जान मन लाग्छ ।
ठाडै उकालो
मर्निङ वाकको बाहानामा
उक्लन्छु
मन्दिर पुग्छु,
घण्टी बजाउँछु
शान्तिको प्रतीक
जुन अहिलेको
अर्थपूर्ण आवश्यकता ।
अनि टीका, प्रसाद
ग्रहण गर्दछु
चैतन्य गुरुबाट
समयको पावन्दीले
त्यहाँ धेरै समय
टिक्न सक्दिनँ
या भनौँ बस्न सक्दिनँ ।
फर्कदा
बाटोमा कोइलीले सोध्छ
को हो…,को हो ?
सायद परिचय, श्ांका लाग्छ,
त्यसले भनेको होला
‘तँ को होस् ?
विहान विहान मन्दिर
दर्शन गरेर आउने ?
आस्था छरेर आउने ?’
म,
एउटा विशुद्ध बेरोजगार
त्यो पनि होइन
किसानको छोरो हुनाले
एउटा अर्ध बेरोजगार
या अस्तव्यस्त बेरोजगार ।
अब भनौँ, म त्यसलाई
कसरी जवाफ दिऊँ ?
या भनौँ,
म त्यसलाई
म को हुँ भनेर
कसरी भनौ
मनमनै भन्न मन लाग्छ,
एउटा राष्ट्रियता बोकेको,
सच्चा नागरिक
कतैबाट अवसर नपाएको
पीडा बोकेको भएर साहित्यकार
साहित्यकार भएको भएर पीडा बोकेको
मात्र ‘दिनेश बस्नेत’ हुँ,
अन्य– जन्तु कोही होइन ।