पाटन, फुटबल र श्रृङ्खला क्लब

दिनेश बस्नेत

एउटा समय थियो, त्यो कुन समय भने – ‘बाल्यकाल’ । जुन समयमा हामी स्कुल जान्थ्यौँ । बढि चासो र चिन्ता पाटनमा कति बेला खेल्न पाइन्छ भन्ने हुन्थ्यो । स्कुलबाट घर कति बेला फर्कन पाए हुन्थ्यो भन्ने हुन्थ्यो । अनि घरमा आए पछि झोला फ्यात्त पिठीमा फालेर पाटन तिर लाग्थ्यौ । अर्थात भनौ, म पनि त्यसै गर्थे । सायद मेरा दौतरी साथी पनि त्यसै गर्थे ।

आमा भन्नु हुन्थ्यो ‘ओइ आउन नपाइकन कता लागिस् । ’ जवाफ दिन पनि हतार भए जसरी, ‘पाटनमा’ भन्थे । आमा खाजा खाएर जान सुझाउनु हुन्थ्यो । तर मन कँहा मान्थ्यो । कहिले भने भुटेका मकै र भट्ट खल्तीमा राखेर पाटन तिर लाग्थे । डहरमा खाँदै हिँड्थे ।

पाटनले मलाई राम्ररी दौडिन सिकायो । फुटबल खेल्न सिकायो । अझ भनौ जुन टिमबाट खेले पनि जित्छु भन्ने एउटा आत्मबलको पाठ, एउटा उर्जामुलक हुटहुटी पाठ सिकायो । र, जित्दा पाइने खुशीको अनुभूती गरायो । वास्तवमा भन्दा कति रमाइला र कति सरसिला थिए ति दिन । अहिले जस्तो जति ठोक्यो उति अकासिने फुटबल कहाँ खेल्न पाइन्थ्यो र ? थोत्रा कपडा, टालाटुली थोत्रो मोजा भित्र कोचेर, गोलो पारेर सिलाएर खेलिन्थ्यो । त्यही बल खुट्टामा हान्न साथिभाई भिडन्त गर्थे । त्यही बल खेल्दा पनि आफु मुर्धन्य खेलाडि ठानिन्थ्यो । पछिल्लो समय भने ब्लाटर र छालाको कभरको बल खेल्न पाइयो । धन्न अनुभव गरियो । भाग्यमानी अनुभुत गरियो ।

साविक भलाम गा.वि.स. वडा नंं.१ म अवस्थित पाटन हरियो गलैचा जस्तो छ । सायद यति सुन्दर र मुलामय चौर विरलै होलान । अर्थात सित्तिमित्ति ठाउँमा यस्तो चौर पाउन मुस्किल पर्ला । यस पाटनले धेरै खेलाडि मात्र जन्माएन । केटाहरुलाई स्वस्थ र फुर्तिलो बनायो । कतिपयलाई विभिन्न देशका सेनामा भर्ती गरायो, अझ भनौ यस पाटनले बनाएको फुटबलको पहिचान विभिन्न कालखण्डमा विडो थाम्ने काम युवाहरुबाट भयो ।

एउटा सन्दर्भ छुटाउन मन लागेन, यस भेगमा युवाहरु आवद्ध भएको श्रृङ्खला क्लवले जुन प्रतियोगितामा भाग लिन्थ्यो । प्रायशः जितेर आउने प्रचलन बसेको थियो । त्यति बेला लाचोक, नागडाँडाँ र ह्याङजामा प्रतियोगिता हुन्थे । श्रृङ्खला क्लबले नियमित भाग लिन्थ्यो । फुटबल खेल्न कै लागि इण्डियन आर्मी र नेपाली सेनामा भर्ती भएका दाइहरु विदा मिलाएर आउथे । क्लबलाई जिताएर फर्कन्थे ।
यसो त त्यतिबेला सुनेको कुरा भन्दा अतिरञ्जित र अस्वभाविक लाग्ला । या बढि नै गुनगान गाए जस्तो लाग्ला, भलामको श्रृङखलाको टिमलाई अर्जेन्टिनाको उपनाम दिदै भन्थे, ‘ल आयो अर्जेन्टिनाको टिम ।’
जुन साखको श्रेय पाटनलाई दिन मिल्छ । र त्यो साख एवं मत्न्यताका प्रतिनिधि पात्रहरु स्वर्गीय तेज बहादुर खत्री र अर्जुन बहादुर खत्री थिए । अझ त्यस्ताका इण्डिया आर्मिबाट राष्ट्रिय स्तरमा खेल्ने लालबहादुर खत्रीको त पृथक मान र महत्व थियो । उनको खेल कला कौशलको प्रशंसा नगर्ने दर्शक कमै थिए भने अर्कोतिर उनको उपस्थितिविना श्रृङ्खला युवा क्लबको टिम कमजोर र अपाहिज बन्थ्यो । उनीहरुले बनाएको विरासत वासुदेव वस्नेत, नरेश के.शी. र उद्धव लामिछानेले केही हदसम्म जोगाए । तर पुस्ताको रुपमा बिँडो थाम्ने खेलाडिको भने कमि भयो । अहिले हिजोको श्रृङ्खला युवा क्लब आज श्रृङ्खला क्लब भएको छ । क्लबबाट फुटबल खेल्ने त्यति राम्रा खेलाडि छैनन भन्दा अनर्थ नलाग्ला ।

विभिन्न ठाउँमा भएका फुटबल प्रतियोगितामा भाग लिने भने चलन अद्यापि छ । युवाहरुको विदेश पलाएनको भार विभिन्न क्षेत्रमा परे जस्तै खेलकुदमा पनि परेको छ । यहाँ उत्पादन भएका खेलाडि विदेशमा रहदा पनि खेल्छन । हिजो भर्खरै नितेश अधिकारीले साउथ कोरियामा ‘बुढासुब्बा कप’ खेलेर जितेको फोटो फेसबुकमा हालेका थिए । अतिशय खुशी लाग्यो । तर देशको अवस्था देख्दा युवाहरु विदेशिन पर्ने बाध्यता सँगसँगै खेल जगतमा परेको प्रतिकुल प्रभावले दिनानुदिन दुःखी बनाउँछ ।

खैर, जे होस् आजका दिन पनि भलामको पाटनमा फुटबल खेल्नेको कमी छैन । विविध कारणले मैदान सेभेन ए–साइडलाई ठिक्क भएको छ । समय, काल, परिस्थिति आत्मसात गरे जसरी वर्षेनी सेभेन–ए साइड प्रतियोगिता हुन्छ । पोखराका अधिकांश टिम हुन्छन्, करिब ३५ देखि ४० टिम ।

यसपालि पनि फुटबल प्रतियोगिता चलिरहेको छ (कात्र्तिक १८–२५ गते सम्म) । बडो रोमाञ्चक र रमाइलोका साथ जारी छ । मलाई लाग्छ भलामलाई चिनाउने भनेको फुटबल र हरिहर मन्दिर हुन् ।

यद्यपि हरिहर मन्दिर त धार्मिक आस्थासँग जोडिएको स्थल भयो, तर फुटबल जगेर्ना र विकास गर्नु, अनि पुरानो साख र सानलाई फर्काउन भलामबासीको दायित्व हुन आउँछ । यो धारणाको नेतृत्व श्रृङ्खला क्लबले गर्दा उचित हुन्छ । यथोचित सहयोग सबै महानुभावहरुबाट पाउने हो भने असम्भव छैन ।

लेखक श्रृंखला क्लबका अध्यक्ष हुन् ।