पर्वतको कुश्मा नगरपालिका स्थित खुर्कोट घर रहेकी उमेरले चार दशक पार गरिसकेकी गीता पौडेल कृषक हुन् । दुई दशक अघि देखि कृषि कर्मबाट नै उनले आफ्नो परिवारको दैनिक गुजारा गर्दै आएकी छन् । जव उनको एघार कक्षामा पढ्दा पढ्दै अठार वर्षको उमेरमा विहे भो । विहेसँगै उनको दैनिकी साग, बन्दा, काउली, टमाटर, खुर्सानी, धनियाँ लगायत उत्पादन गरिने तरकारी खेतीमा जोडियो ।
पढ्ने रहर हुँदाहुँदै परिस्थितिवश विचमै पढाइबाट विट मारेकी उनी अहिले कृषि कर्ममै खुशी छिन् । उनले तीन दिन बराबरको हलमा खेतीपाती गर्दै आएकी छिन् । उनलाई खेती गर्न उनका श्रीमान्ले भरपूर सहयोग गर्छन् । कृषक पौडेलको दैनिकी विहान चार बजेदेखि शुरु हुन्छ । उनी भन्छिन्र्–विहानै चार बजे उठ्छु, पुजाआजा गर्छु, घर लिपपोत गर्छु, गाईगोठको काम गर्छु, खाना पकाउछु अनि मात्रै तरकारी लिएर बजार झर्छु ।’ एक छोरा र दुई छोरीकी आमा रहेकी उनको परिवारमा श्रीमान्, सासु आमा सहित छ जना सदस्य छन् । उनका छोराछोरी सवै पढ्न भनी कुश्मा बजार झरेका छन् । एक छोरा बोर्डिङको सात कक्षा पढ्छन भने छोरीहरु मध्ये एक उच्च मावि तह अध्ययनरत छिन् भने अर्की स्नातक तह अध्ययन गर्दै छिन् ।
घरको दैनिक खर्च र छोराछोरीको पढाइ खर्च सवै तरकारी विक्रीबाट हुने आम्दानी मासिक पचास हजारबाट नै चलाउदै आएको उनी बताउँछिन् । तरकारी विक्री गरी प्राप्त हुने आम्दानी बाहेक अर्को उनको आम्दानीको स्रोत भनेको घरमा पालेको एउटा भैंसीले दिने दुध र घिउ हो । घिउ बेचेर वार्षिक पचास हजार जति आम्दानी उनले गर्छिन् । कृषक पौडेलको गतिलो आम्दानीको स्रोत भनेको प्याजका वेर्नाबाट हुने आम्दानी हो । उनका अनुसार प्याजको वेर्ना विक्रीबाट मात्रै उनले वर्षमा कम्तिमा पनि दुई लाख रुपैयाँ आम्दानी गर्छिन् । दुई दशकदेखि माटोमा श्रम र पसीना बगाउदै आएकी उनले अहिलेसम्म कहिँकतैबाट कुनै कृषि सहयोग पाएकी छैनन् । कृषक पौडेल भन्छिन्र्–मैले आजसम्म कृषि सम्वन्धी कुनै तालिम लिएकी छैन । न त कसैले तालिम लिन भनेका छन् । कृषि अनुदान पनि एक रुपैया पाएकी छैन । हामी जस्तो सानो पूँजी भएका कृषकका लागि सस्तो व्याजमा रिण पाउन पाए पशुपालन र तरकारी खेतीलाई अझै राम्रोसँग बढाउन सकिने थियो ।’
कृषक पौडेलले आफूलाई बजारको समस्या नभएको बताउँछिन् । उनी भन्छिन्र्–तरकारी बिक्रीका लागि मलाई समस्या छैन । मैले तरकारी बेच्न थालेको धेरै लामो समय भयो । मेरो तरकारी बजारमा पसलेलाई भन्दा पनि आफ्नै चिनेजानेका व्यक्तिहरुलाई नै विक्री गर्छु । मैले तरकारीमा विषादी राख्दिन, घरकै मलखाद राख्छु । मूल्य मिलाएर दिन्छु । यो कुरा ग्राहकलाई थाहा छ । तेहीभर नै मसित तरकारी लिनु हुन्छ ।’
वर्षौदेखि माटोमै खेल्नुपर्ने, बजारसम्म तरकारी डोको या थैलोमा विक्री गर्नुपर्ने कृषि पेशा गर्दै गर्दा कहिलेकाही दिक्क लाग्दैन भन्ने जिज्ञासामा आफूले बेच्न ल्याएको तरकारी तिर हेर्दै कृषक गौडेल यस्तो जवाफ दिन्छिन्र्–चोर्न र छल्न पो भएन अर्कोलाई तर आफ्नो पेशामा गरिखान के को दिक्क मान्नु ? मेरा आफन्त दाजुभाई कोही अमेरिका छन्, कोही यतै राम्रो पेशाव्यवसाय गर्दै छन् । पेशा व्यवसाय आआफ्नो हुन्छ । कसले के भन्छ भन्ने तिर म लाग्दिन । म मेरै पेशामा खुशी छु ।’ कृषक पौडेलले आफूलाई तरकारी खेतीमा मात्रै सीमित राखेकी छैनन् । उनी गाउँकै दिप ज्योति महिला समूहकी अध्यक्ष, सत्य दुर्गा भवानी मन्दिर व्यवस्थापन समिति अध्यक्ष रही सामाजिक कर्म समेत उनले पुरा गर्दै आएकी छिन् ।