
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
उनी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ५ हजार ६५ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
गत आइतबार सम्पन्न मतदानमा यहाँ ४५ हजार ९८७ मत खसेको थियो। जसमध्ये पौडेलले १५ हजार २३७ मत र पोखरेलले १० हजार १७२ मत पाएका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पोखरेलले कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतलाई पराजित गरेका थिए।
२०७४ मा सम्पन्न निर्वाचनमा उनी तनहुँ–२ ‘क’ मा मात्र ५ मतले प्रदेशसभा सदस्यमा पराजित भएका थिए। नेकपा माओवादी केन्द्रकी नेतृ आशा कोइराला १६ हजार ६४६ मतले प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा पौडेलले १६ हजार ६४१ मत प्राप्त गरेका थिए।
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली कांग्रेसका नेता प्रदीप पौडेललाई बधाई दिएका छन् । “मैले उमेदवारी दिएको क्षेत्र–काठमाडाैं ५ मा मैले यस क्षेत्रको प्रतिनिधि भएर जीवनका लागि कहिल्यै बिर्सन नसक्ने धेरै उपयोगी कुराहरू सिकेको छु ! यसरी शिक्षा र प्रेरणा प्रदान गर्नुहुने सबैप्रति मेरो सधै उच्च आदरभाव रहिरहनेछ ! म आफ्नो बाँकी जीवन देश, जनता, परिवर्तनको अभियान तथा आफू सम्बद्ध रहेको पार्टी–नेकपा( एमाले)प्रति समर्पित रहिरहनेछु,” उनले फेसबुमा लेखेका छन् ।