दाजुभाइ नै पालिका अध्यक्ष निर्वाचित

यो चुनावमा दाजुभाइ नै दुई फरक जिल्लाको फरक फरक गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । प्रदेश नं। १ धनकुटा र ओखलढुंगा जिल्लाबाट दाजुभाइले नै गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

दाजु जीतेन्द्र रुम्दालीले धनकुटाको साँगुरीगढी गाउँपालिका र भाइ ज्ञानेन्द्र रुम्दालीले ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाबाट जित हाँसिल गरेका छन् ।

ज्ञानेन्द्रले कांग्रेसको सर्मथनमा स्वतन्त्र उम्मेदवारी दिएर अध्यक्षमा विजय हासिल गरेका हुन् ।

गठबन्धनको तर्फबाट धनकुटाको साँगुरीगढी गाउँपालिकामा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका जीतेन्द्रले ५ हजार ३ सय ९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का कुमारजंग याखाले ४ हजार ८ सय २८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

दाजुभाइले नै गाउँपालिका अध्यक्ष जितिरहँदा उनीहरूकै दाजु राजकुमार रुम्दाली पनि मानेभन्ज्याङ गाउँपालिका १ को वडाध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएर उनले मानेभन्ज्याङ गाउँपालिकामा जित हाँसिल गरेका हुन् । उनीहरूका भाइ दीपेन्द्र रुम्दालीले मानेभन्ज्याङ गाउँपालिकाको उपाध्यक्षमा हार बेहोर्नुपरेको छ ।

जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदारी दिएका दीपेन्द्रले २ हजार ७ सय ७७ मत प्राप्त गरेका छन् ।