कास्कीको माछापुच्छ्रेमा एमालेको किल्ला तोडियो

कास्कीको माछापुच्छ्रेमा एमालेको किल्ला भत्काउँदै नेपाली कांग्रेसले अध्यक्ष, उपाध्यक्षसहित अधिकांश जनप्रतिनिधि जितेको छ ।

कांग्रेसका उम्मेदवार मीनबहादुर गुरुङ ७ हजार ९९ मतसहित गाउँपालिका अध्यक्ष निर्वाचित भए भने उनका प्रतिश्पिर्धी एमाले उम्मेदवार एमालेका विक्रम गुरुङले ६ हजार ६ सय १७ मत पाएका छन् ।

उपाध्यक्षमा सीता अधिकारी निर्वाचित भइन् । उनले एमालेकी उम्मेदवार सीता तिवारी अधिकारीलाई हराएकी हुन् । अधिकारीले ६ हजार ३ सय ७६ र तिवारीले ५ हजार ९ सय ५१ मत पाएका छन् । नेकपा माओवादी केन्द्रकी प्रविणा अधिकारीले ९ सय ७३ मत ल्याएकी छन् ।

माछापुच्छ्रेका १, २, ३, ४, ५ , ८ र ९ नम्बर वडामा कांग्रेस, वडा नम्बर ७ नेकपा माओवादी र वडा नम्बर ६ नेकपा एमालेले वडाध्यक्ष जितेका छन् ।

वडा नम्बर १ मा इन्द्र गुरुङ, २ मा गणेश आचार्य, ३ मा हरिश्चन्द्र लम्साल, ४ मा मधुसुधन अधिकारी र ५ मा नारायण पौडेल, ८ मा राम गुरुङ र वडा नम्बर ९ मा हरिबहादुर क्षेत्री नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष पदमा विजयी भएका छन् ।

वडा नम्बर ६ मा नेकपा एमालेका टेकनाथ गौतम र वडा ७ मा नेकपा माओवादीका बैकुण्ठप्रसाद भण्डारी विजय बनेका छन् ।