ताजा समाचार

श्रावण ११ गते २०७६

रामभक्तको ‘मायालाई ढाका पछौरी’ बजारमा

गायक रामभक्त जोजिजुको स्वर रहेको म्युजिक भिडियो ‘मायालाई ढाका पछ्यौरी’ शनिबार सार्वजनिक गरियो । कवि तीर्थ श्रेष्ठले म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

उमेश सिकेको शब्द र राजनराज शिवाकोटीको संगीत रहेको म्युजिक भिडियोमा नीराजन प्रधान र नायिका प्रियंका कार्कीले अभिनय गरेका छन् । हार्मोनी द मोर्डन सङस्टे«स अफ पोखराले आयोजना गरेको कार्यक्रममा कवि श्रेष्ठले गीतले रामभक्तको सांगीतिक यात्रामा नयाँ आयाम थप्ने बताए ।

कवि श्रेष्ठले अर्काको नक्कल गर्नुभन्दा पनि नेपालीपनलाई माया गर्न आग्रह गरे । उनले भने, ‘हामीले आइफेल टावर बनाउनै सक्दैनौं, समुद्री किनारको व्यापार र रौनक पनि यहाँ हुँदैन । आफ्नै माटोमा उभिएर आफूजस्तै बनौं ।’

उनले संसारले लयमा अडिएको चर्चा गर्दै लय भंग हुँदा अनेक विपत्ति आइलाग्ने उल्लेख गरे । श्रेष्ठले भने, ‘चन्द्रमा, तारालाई कसले टेको दिएको छ र ? उनीहरु लयकै कारण अडिएका छन् । खोला, नदी, हावा लयकै कारण अस्तित्वमा छन् । लयमा सन्तुलन बिग्रिए विपत्ति आउँछ ।’ उनले आधुनिक गायकको रुपमा स्थापित रामभक्तको जीवनमा यो गीत नयाँ मोड बनेको चर्चा गरे । श्रेष्ठले भने, ‘यो गीतमा उहाँको स्वर निकै खुलेको छ । यो गीतले उहाँको जीवनमा नयाँ आयामा थप्ने मलाई विश्वास छ ।’

गायक रामभक्त जोजिजुले अहिले गीत संगीतको बजार खर्चिलो रहेको बताए । उनले खर्चको हिसाबले गीत, संगीत, अभिनय र निर्देशन एउटै व्यक्तिले जान्न पर्ने अवस्था आएको धारणा राखे । उनले दर्शक, स्रोताले नाच्ने मिल्ने गीत गाउन बारम्बार गरेको अनुरोध यो गीतमा पूरा गरेको उल्लेख गरे ।

चलचित्र निर्देशक घनश्याम लामिछानेले गीतको अडियो, भिडियो र गुणस्तर उत्कृष्ट रहेको बताए । उनले गीतका शब्द र संगीत पनि उत्कृष्ट भएको बताए । गायक जोजिजूले कार्यक्रममा सोही गीत प्रस्तुत गरे । उनले गीत सिर्जना र रेकर्डिङका पुराना र नयाँ दिन तुलनासमेत गरे ।

गीतकार उमेश सिकेले नेपालीको भेषभूषा र मौलिकता जोगाउने गरी गीत लेख्ने प्रयास गरेको सुनाए । उनले लामो अन्तरालपछि संगीत क्षेत्रमा फर्किएको जनाउँदै नेपाली संगीतलाई सबैले माया गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्राज्ञ सूर्य खडका बिखर्ची, संगीतकार कृष्णबहादुर श्रेष्ठ, हार्मोनीकी अध्यक्ष इतु जोजिजु, उपाध्यक्ष कौशिला गुरुङ, गीतकार अनुराग अधिकारी लगायतले बोलेका थिए ।