ताजा समाचार

जेठ ४ गते २०७६

नेपाली अर्थतन्त्रका अवरोधहरू

नेपाल एक भूरिवेष्ठित राष्ट्र हो । विश्वमा नेपालसहित जम्मा ४९ वटा राष्ट्रहरु भूरिवेष्ठित राष्ट्र
(Land Locked) छन् । नेपालबाट समुद्रसम्मको दुरी करिब २ हजार किलोमिटर रहेको छ । एशियाली राष्ट्रहरु भुटान, अफगानिस्तान, लाओस तथा मंगोलिया जस्ता राष्ट्रहरु भूपरिवेष्ठित राष्ट्र हुन् भने युरोपेली राष्ट्रहरुमा अस्ट्रिया, हंगेरी, स्विजरल्याण्ड, स्लोभाक जस्ता जम्मा १७ राष्ट्रहरु भूपरिवेष्ठित राष्ट्र छन् ।

यस्तै अफ्रिकामा बोत्स्वाना, नाइजर, लेसोथो, रुगान्डा, युगान्डा, जाम्बिया, जिम्बाबे जस्ता भूपरिवेष्ठित राष्ट्रहरु छन् । साथै दक्षिण अमेरिकी रास्ट्रहरू बोलिभिया र पारागुय भूपरिवेष्ठित राष्ट्र छन् । यस्तो भूपरिवेष्ठित राष्ट्रहरु समुद्रमार्फत प्राप्त गर्ने स्रोत साधनहरुबाट ठगिने मात्र होइनन् सहज रुपमा वस्तुहरु आयात निर्यात गर्न पनि सकस भोग्नु परेको छ भने समय समयमा हुने आर्थिक नाकाबन्दी, अनावश्यक गोदाम शुल्क, सामान आयात निर्यातमा ढिलाई जस्ता विभिन्न समस्याहरु झेल्नु परिरहेको छ । जसले गर्दा अनावश्यक आर्थिक घाटाबाट ग्रसित हुन् पुगेको छन् ।

नेपाल पनि भूपरिवेष्ठित राष्ट्र हो यहाँ तीनतिरको सीमाना भारतवेष्ठित छ भने उत्तरी सीमाना चीनको स्वशासित तिब्बत पर्द्छ । भूपरिवेष्ठित राष्ट्रहरुले पाउनुपर्ने समुद्री मार्ग सम्वन्धित जे जस्तो नियम कानुनहरु भएता पनि नेपाल सानो मुलुकलाई भारतले पर्याप्त मात्रामा जलमार्गको सुविधा पाउन सकेको छैन । सामान आयात निर्यातको क्रममा बन्दरगाहमा अनावश्यक शुल्क, ढिला सुस्ती छिमेकी रास्ट्र भारतले समयसमयमा उचित तथा अनुचित दवावहरु दिईराखेको हुन्छ ।
समयसमयमा आर्थिक नाकाबन्दी गरेर नेपाल जस्तो सानो मुलुकलाई आक्रान्त पारेको छ भने नेपाललाई ठूलो आर्थिक घाटा व्यहोर्नु परिराखेको छ । यस्तै विभिन्न कारणले नेपालमा वैदेशिक पूँजी एवं प्रविधि भित्र्याउन ज्यादै सकस भइरहेको छ । एक तवरले हेर्दा जलमार्गको सुविधाबाट बञ्चित हुनुपर्दा नेपालले बर्सेनी खरबौं व्यापार घाटा सहनुपरेको छ ।

अर्कोतर्फ नेपाली अर्थतन्त्रको अवरोधको रूपमा भौगोलिक अवरोध पनि टड्कारो छ । नेपालको कूल भूमिमध्ये १५ प्रतिशत भूभाग हिमाली भेगमा पर्दछ, जसमध्ये जम्मा २ प्रतिशत मात्र कृषियोग्य भूमि छ । देशको कूल भूमिमध्ये सबैभन्दा धेरै भूमि जहाँ झन्डै ६८ प्रतिशत भूभाग पहाडी भेगमा पर्दछ भने कृषियोग्य भूमि जम्मा १० प्रतिशत रहेको मानिन्छ । नेपालको कुल भूमिमध्ये १७ प्रतिशत तराई भेगले ओगटेको छ भने कृषियोग्य भूमि झन्डै ४० प्रतिशत रहेको मानिन्छ ।
यसरी नजर अन्दाज लगाउँदा पनि पहाडी भेगको भूभाग धेरै छ तर कृषियोग्य भूमि थोरै नै छ भने तराई भेगमा कृषिको अथाह सम्भावना हुँदाहुँदै पनि मानिसको जनघनत्व तराईमा व्याप्त छ जसले गर्दा कृषियोग्य भूमिमा ह्रास हुँदैछ । नेपालको कुल भूमिमध्ये पहाडी भूभाग धेरै नै छ । जसले गर्दा समय समयमा बाढी, पहिरो जस्ता समस्याले आक्रान्त बनाएको छ भने विकासको पूर्वाधार तय गर्न पनि कठिन छ ।

तराईमा उत्पादनको सम्भावना अत्यन्तै हुँदाहुँदै पनि सिंचाई अभाव लगायत अन्य विविध सुविधाको अभावले गर्दा न्यून उत्पादन भैराखेको छ । उत्पादन लागत बढी हुने हुँदा भारतबाट आयातित वस्तुहरुसंग प्रतिस्पर्धा गर्न नसक्दा उक्त उत्पादित वस्तुहरु कौडीको मूल्यमा बेच्नु परेको छ या त नष्ट गर्नुपरेको उदाहरण छर्लंग छ ।

हिमाली भेगमा अधिकाश भूभाग बाह्रै महिना हिउँले ढाकिरहने हुँदा नेपाली कृषकहरुले जस्तो देश त्यस्तै परिवेश गर्न चुकेका हुन् जस्तो लाग्छ । ठाउँ, भूमि, हावा पानी अनुसार सुहाउँदो वस्तुको उत्पादन गर्नुका साथै व्यावसायिक कृषिमा आधारित नयाँ नयाँ कृषि प्रणालीको प्रयोग गर्न नेपाली कृषकले अझै भेउ पाउन नसकेका हुनकी ? पहाडी तथा मध्यपहाडी भूभागमा ठूलाठूला गल्छीहरु, तीब्र गतिमा बग्ने नदी नालाहरु असंख्य मात्रामा छन् जसमा विद्युत उत्पादनको क्षमता बढी छ । तथापि विद्युत उत्पादन गर्न भने महंगो पर्न गई विद्युत सुविधा प्रयोग गर्न आम नागरिक चुकेका छन् ।

अर्कोतर्फ नेपाल भूकम्पीय हिसाबले पनि ज्यादै जोखिमयुक्त छ । विभिन्न कालखण्डमा गएको भूकम्पले विभिन्न आर्थिक एवं मानवीय क्षतिले हामीलाई विकासको गतिमा सधंै एकचरण पछाडि धकेलिरहेको हुन्छ । तराई भूभाग बर्सेनी जलमग्न हुने समस्याले पनि विभिन्न आर्थिक एवं मानवीय क्षति देशले भोग्नुपरेको छ भने केही महिना अगाडि मात्र तराईमा आएको आँधिबेहरीले दर्जनौं मानवीय क्षति र करोडौं आर्थिक क्षति देशले भोग्नुपर्यो ।

नेपालले भौगोलिक विकटताले गर्दा पनि श्रमशक्ति उचित रुपमा चलायमान हुन सकिराखेको छैन भने आधारभूत जीवन जिउन पनि मुस्किल छ । यातायातको समस्या साथै सहजै बजारको पहुँच नहुनाले पनि जुम्लाको स्याउ लगायत अन्य कृषि जन्य उत्पादित वस्तु कुहिएर फाल्नु परिरहेको छ ।

उता मुख्य बजारमा विदेशी आयातित स्याउले आफ्नो बजार हिस्सा बढवा गरेको गर्यै छ ।
गत बर्षको आँकडालाई हेर्दा नेपालमा झन्डै २१.६ प्रतिशत (६० लाख) जनसंख्या अझै गरिबीको रेखा मुनि बाच्नुपर्ने विवसताले पनि नेपालको अर्थतन्त्रलाई अवरोध सृजना गरेको छ । साथै नेपालमा प्राकृतिक स्रोत साधनको न्यून प्रयोग, व्यापक बेरोजगारी, पूँजीको अभाव, औद्योकिकरण जस्ता समस्याले पनि देशको अर्थतन्त्रमा अवरोध पार्ने विषय हो भन्ने बहस टड्कारो छ ।

अर्कोतर्फ देशको युवा जनशक्ति दैनिकी १ हजार ६ सयदेखि १ हजार ७ सयसम्म विभिन्न कामको खोजीमा विदेश पलायन भएका छन । पढेलेखेका युवा जनशक्ति युरोप, कोरिया ताक्ने र बाँकी युवा जनशक्ति साउदी कतार जान हतार गर्ने अनि देश बनाउने भन्दा पनि अरुको देश बनाउने प्रवृतिले कहिलेसम्म चल्छ ? विदाइको पीडामा छटपटाइरहेका ती विदेशिएकाहरुको परिवारहरु अनि बुढाबुढी भैसकेका बाआमाहरु काठमाडौंको त्रिभुवन विमानस्थलमा पीडा, रोदनमा रहेर कति दिनसम्म विदाई गर्ने ? कति दिनसम्म पारिवारिक सदस्यसंग टाढिएर भावविह्वलरुपमा बाँच्ने ? ग्रामिण भेगमा बुढाबुढी, बालबच्चा अनि महिलाहरुको संख्या ह्वात्तै बढेको छ ।

देशमा औद्योगिक पूर्वाधारको कमीले गर्दा पनि नेपाली अर्थतन्त्र चाहे जति गतिमा दौडन नसेको हो कि भन्ने देखिन्छ । कृषिप्रधान देश नेपाल भनेर भन्ने कथन पनि कथन मै सीमित रहने भयो । न कृषि क्रान्ति नै भयो न कृषिको क्षेत्रको उन्नति नै ? नेपालको कृषि लगायत विभिन्न क्षेत्रमा वैदेशिक सहायताले खासै उपलब्धि गरेको छैन । देशको आर्थिक पद्धतिलाई हेर्दा प्रत्यक्ष्य वैदेशिक लगानी (Foreign Direct Investment) लाई भित्र्याउने प्रतिबद्धता सहितको सम्मेलन त गर्छौं तर कति उपलब्धि भए या भएनन् भनि उचित समीक्षा गर्यो त ? देशको ऋण भनेर प्रत्येक नेपालीको टाउकोमा झन्डै रु. ३० हजार पर्न जान्छ । के यहि ऋणले मात्र अर्थतन्त्रको विकास एवं विस्तार हुन्छ ? वैदेशिक ऋणको भार थप्ने घम्साघम्सी २०४६ सालपछि अत्यन्त तीव्र बन्न पुगेको छ ।

यसले अन्तर्राष्ट्रिय जगतमा नेपालीको पहिचान कहालिलाग्दो छ भने अर्कोतर्फ ऋणको लिंदाको बखत अनावश्यक शर्तहरु स्विकार्नुले पनि अर्थतन्त्र हुर्कन र दौडनलाई अवरोध भैरहेको छ । नेपालको अर्थतन्त्रलाई देशको सामाजिक र सांस्कृतिक विशेषताले पनि प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा प्रभाव पारिराखेको छ । देशमा सामाजिक मूल्य, मान्यता, रीतिरिवाज, परम्परा आदिले आर्थिक विकासलाई नकारात्मक प्रभाव पारेको छ ।

विकासशिल राष्ट्रहरुमा यी यस्ता अनुत्पादक खर्चहरु क्रमशः बढ्दै जाँदा व्यक्तिहरुको बचत गर्ने क्षमता घट्न गई पुँजी निर्माण प्रक्रिया कमजोर अवस्थामा पुग्दछ भने समाजमा अनावश्यक खर्च गर्ने देखासिकीको प्रवृति बढ्ने हुँदा अन्तत्वगत्वा भ्रष्टाचारीले प्रसय पाउछँन् । साथै प्राविधिक पक्षहरुको उचित प्रयोग गर्न नसक्नुले पनि देशको अर्थतन्त्रमा वाधा देखापर्दछ ।

नेपालको कुल जनसंख्यामध्ये करिब ८० प्रतिशत जनसंख्या कृषिमा आश्रित भएको कारणले पनि आधुनिक कृषि औजार लगायत व्यावसायिक कृषि प्रणाली अवलम्बन गर्न सकेको छैन । देशमा विद्यमान औद्योगिक निगमहरुमा पनि समयानुकूल प्रविधि प्रयोगमा ल्याउन नसक्नुले पनि हाम्रो वस्तु एवं सेवाहरु अप्रतिस्पर्धी भएका छन् । अर्कोतर्फ पर्यटन क्षत्रलाई पनि प्राथमिकतामा राख्नुपर्ने देखिन्छ ।

नेपालको जिडिपीमा कृषिको योगदान २७.६ प्रतिशत छ । अन्ततः आर्थिक गतिको मेरुदण्ड नै कृषि हो । अन्य देशको इतिहास हेर्यौ भने पनि सर्वप्रथम कृषि क्षेत्रमा विकास त्यसपछि मात्र औद्योगिक क्षेत्रको विकास गर्दै बृहत् उत्पादन वितरणबाट क्रमशः सेवा क्षत्रको विकास गर्दै सम्रग देशको आर्थिक विकास गरेको पाइन्छ । त्यसैले नेपालले गर्नुपर्ने प्राथमिक क्षेत्र भनेकै कृषि हो तदनुसार यसलाई उचित पहिचान र विकास गर्नुपर्ने छ तब मात्र औद्योगिकीकरणको युग आँफै शुरुआत हुन्छ ।