ताजा समाचार

वैशाख ५ गते २०७६

पत्तै नपाइ बिग्रिन सक्छ कलेजो

वल्ड लिभर डे हरेक साल १९ अप्रिलमा मनाइन्छ । यसपालि यो दिवस वैशाख ६ गने परेको छ । कलेजो हाम्रो शरीरको दोस्रो र ठूलो महत्वपूर्ण अंग हो । यसले शरीरमा धेरै काम गर्छ । हामी जेसुकै खान्छौं, पिउँछौं, औषधिदेखि सबै कुरा हाम्रो कलेजोको माध्यमबाट पास हुन्छ । कलेजोले त्यसलाई सफा गर्ने काम गर्छ । कलेजो नभई हामी बाच्न सक्दैनौं । कलेजोले पचाउन मद्दत गर्छ । हामीले खाएका राम्रा वा नराम्रा सबै कुरालाई पखाल्न मद्दत गर्छ ।

कलेजोको रोग लागेका मानिसहरु प्रष्ट रुपले समस्या लिएर आउँदैनन् । रोग लाग्ने बित्तिकै लक्षण नदेखिने भएकाले धेरैजसो बिरामी अन्तिम अवस्थामा आउँछन् । गम्भीर अवस्थामा आइसकेका बिरामीमा जन्डिस हुने, खाना रुचि नहुने, दुब्लाउँदै जाने विविध समस्या लिएर आउँछन् । कलेजोलाई निरोगी बनाउन हामीले खानपान, जीवनशैली र व्यायममा ध्यान दिनुपर्छ । पानी प्रशस्त पिउनुपर्छ । जंक फुड, चिल्लो नखाने गर्नुपर्छ भने फलफूल र सागपात धेरै खानुपर्छ । हाम्रो भान्छामा प्रयोग हुने बेसारले पनि कलेजोलाई धेरै फाइदा गर्छ ।

मधुमेहलाई नियन्त्रणमा राख्नुपर्छ । मोटोपनका कारणले पनि कलेजोको समस्या आउन सक्छ । रक्सी र चुरोटको सेवन र जथाभावी औषधी प्रयोगले पनि कलेजोलाई हानी गर्छ । कलेजो बिग्रिएपछि यो सुन्निदै जान्छ । यस्तो हुँदा दाहिने कोखा दुख्ने, आलस्य हुने, खान मन नलाग्ने, शरीर असहज हुने जस्ता समस्या हुन सक्छन् । हेपाटाइटिस बि र सिबाट बाच्नुपर्छ ।

नेपाली परिवेशमा रक्सी नै प्रमुख कारण हो कलेजो बिग्रनु वा कलेजो फेल हुनुको । जसलाई लिबर सिरोसिस भनिन्छ । हामीकहाँ ८०–९० प्रतिशत लिबर सिरोसिसको कारण रक्सी हो । हिजोआज लामो समयदेखि हेपाटाइटिस बि र हेपाटाइटिस सि भएर कलेजो बिग्रेकाको संख्या पनि बढ्दो छ । कलेजो ७०—८० प्रतिशत बिग्रिदासम्म पनि कतिपय अवस्थामा कुनै पनि लक्षण वा समस्या नदेखिन पनि सक्छ ।

कलेजो ७०—८० प्रतिशत बिग्रिदासम्म पनि कतिपय अवस्थामा कुनै पनि लक्षण वा समस्या नदेखिन पनि सक्छ ।

जस्तो नियामित रक्सी खाने र कलेजो बिग्रिदै गरेको व्यक्तिको केही महिना अघिसम्म पनि रगतको माध्यमबाट गरिने कलेजोको जाँच पनि सामान्य देखिन पनि सक्छ । कसै कसैमा रोगको सुरुवाती अवस्थामा कमजोरी महसुस हुन सक्छ । छिट्टै थकाइ लाग्ने, काम गर्न गाह्रो हुने, हात खुट्टा गलेर आउने, खाना खान मन नलाग्ने हुन सक्छ । कलेजो पूर्णतः बिग्रनुअघि नियमित रक्सी सेवन गर्नेहरुमा निम्न चरण देखिन सक्छन् ।

१. कलेजोमा बोसो

हिजो आज धेरै बिरामी भिडियो एक्सरे गर्दा फ्याट्टी लिबर (कलेजोमा बोसो) देखियो भनेर हस्पिटल, क्लिनिकमा आउने गरेको देखिन्छ । यसलाई  कलेजो रोगको पहिलो लक्षण मान्न सकिन्छ । यो अवस्थामा मान्छे बाहिरबाट हेर्दा एकदमै सामान्य देखिन सक्छ । उसको रगतमा  कलेजोको जाँच एलएफटीको रिपोर्ट सामान्य पनि हुन सक्छ । धेरै जस्तो अवस्थामा यो सामान्य जस्तो लाग्न सक्ला । तर यसलाई नजरन्दाज गर्नु हुँदैन । पेट तथा कलेजो रोग विशेषज्ञसंग परामर्श राम्रो हुन्छ । कतिपय अवास्थामा, यो भविष्यमा हुन सक्ने घातक रोगको पहिलो लक्षण हुन सक्छ ।

१.     STEATOHEPATITIS लाई दोस्रो चरण मान्न सकिन्छ । यस्मा भिडियो एक्सरे गर्दा कलेजोमा बोसो देखिनुका साथै कलेजो सुन्निन्छ, फुल्छ ।

कसै कसैलाई खाना मन नलाग्ने, बान्ता हुने, होला जस्तो हुने, मुख मीठो नहुने हुन्छ । आलस्य, कमजोरी, पहेलो पिसाब, आँखाबाट पहेलोपना सुरू भएर शरीरको अन्य भागमा  पनि देखिन सक्छ । करंगमुनिको दाहिने भाग कोखा दुख्ने पनि हुन सक्छ । यसको समयमै रोगको कारण, निदान र उपचार नगरे कतिपय अवास्थामा रोग बढेर कलेजो बिग्रने अवस्था पनि आउन सक्छ । यो अवस्था पनि सफल उपचार गरे बिरामी र कलेजो पहिले जस्तै  सामान्य अझै बन्न सक्छन् ।

३. तेस्रो वा अन्तिम अवस्थामा लिवर सिरोसिस हुन्छ । सामान्य भाषामा यस्लाई लिबर फेल  भनेर बुझ्न सकिन्छ । कलेजोको क्यान्सरपछिको यो गम्भीर बिमारी हो ।

लिबर  सिरोसिसका लक्षण

१.जन्डिस  रहिरहने, आँखाबाट पहेलोपना सुरू भएर शरीरका अन्य भागमा देखा पर्ने र बढ्ने हुन्छ । पहेलो पिसाब हुन्छ ।

२. खाना मन नलाग्ने, बान्ता हुने, आलस्य, कमजोरी

३. खुट्टा सुनिन्ने, फुल्ने, पेट फुल्ने र पेट हुने

४. छाला मासु गलेर आउने, पातलो दुब्लो हुने

५. पुरुषको स्तन बढेर आउने

७. चोट लाग्दा रगत बगिरहने

कलेजो रोग विशेषज्ञले यस्ता रोगी देख्ने बित्तिकै पत्तो लगाउन  सक्छन् । तर कलेजो के  कति बिग्रेको छ, अरु के के  जटिलता छन्, त्यो हेर्नलाई  केही जाँच आवश्यक हुन्छन् ।

सिरोसिसमा आउन सक्ने समस्या

१.     पेटमा पानी जम्नाले पेट फुल्छ । सास फेर्न गाह्रो हुन्छ ।

२.     खुटा सुन्निएर काम गर्न, हिंड्न कठिन हुन्छ ।

३.     बान्ता हुने, वान्तामा रगत आउने हुन्छ । दिसामा रगत आउने, दिसा कालो हुने हुन्छ ।

४.     बोली लट्पटिने,बेला बेलामा होस गुमाउने, दिनमा सुत्ने, रातमा बर्बराउने

५.     पिसाब कम हुने

६. सास फेर्न कठिन हुने, केही पाइला हिंड्न पनि गाह्रो हुन्छ ।

७.     कलेजोको क्यान्सर

माथि उल्लिखित कुनै पनि समस्या देखा परेमा तुरुन्तै अस्पताल जानु पर्छ । कतिपय अवस्थामा आइसियुमा भर्ना गरेरमात्र उपचार सम्भव हुन सक्छ ।

लिबर सिरोसिसको उपचार

सिरोसिस भएका बिरामी जन्डिसको उपचार गर्दै हिंडेको देखिन्छ । जन्डिसको उपचार गर्दै यो रोग निको हुँदैन । जन्डिस भनेको कलेजोको खराबी हो । यो आफैंमा कुनै रोग होइन । जन्डिस गराउने कलेजो रोगको उपचार गर्नु पर्छ । रक्सी खानै भएन, चुरोट पनि तान्नु भएन ।

समयमै रोग पत्ता लगाई उपचार गरेमा समस्या बढ्न पाउँदैन । बिरामीलाई बचाउन सकिन्छ । कलेजो जति बिग्रियो, बिग्रियो, थप बढ्न नदिन सकिन्छ । कतिपय अवस्थामा कलेजो प्रत्यारोपण गर्नुबाहेक विकल्प पनि सक्छ ।

रक्सी सेवन गर्ने, मोटोपन भएका, सुगर भएकाहरुमा, कोलस्ट्रोल उच्च भएकाहरुमा जसरी पेटको छालामुनि बोसो जम्छ, त्यो नै बोसो कलेजोमा गएर जम्ने हो ।

धेरै बिरामी कलेजोमा बोसो जमेको छ भनेर आउनुहुन्छ । धेरैलाई अब के जाँच गर्ने भन्ने थाहा छैन । रक्सी सेवन गर्ने, मोटोपन भएका, सुगर भएकाहरुमा, कोलस्ट्रोल उच्च भएकाहरुमा जसरी पेटको छालामुनि बोसो जम्छ, त्यो नै बोसो कलेजोमा गएर जम्ने हो । त्यही बोसो मृगौलामा गयो भने मुटुको रक्तनलीमा गयो भने हृदयघात हुन सक्छ । मृगौलामा गयो भने मृगौला खराब हुन्छ ।

जसले नियमित रक्सी खानुहुन्छ, कलेजोको रिपोर्टमा खराबी आएको छ, कलेजो नयाँ पलाएको छ कि छैन, हेपाटाइटिस बि र सी लागेकाले यो परीक्षण गराउनुपर्छ ।

(मेडिकल ग्यास्ट्रोलोजी, हेपाटोलोजीमा डिएम डा. भट्टराई  ग्यास्ट्रो केयर पृथ्वीचोकमा कार्यरत छन् ।)

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


Loading...