गहुँत किन्छन्, दूध किन्दैनन्

दाङमा जर्सी गाईको दूध बिक्री हुन नसकेपछि किसान मर्कामा परेका छन् । तुलसीपुर १६ का प्रवीण चौधरीले पनि ६ वटा जर्सी गाई पालेका छन् । उनलाई पनि जर्सीको दूध बिकाउन निकै संघर्ष गर्नुपर्छ । ‘मान्छेले बरु गाईको पिसाब खोज्छन्’, उनले भने, ‘तर दूध खोज्दैनन् ।’ गहुँतका लागि पिसाब खोज्ने गरे पनि तिनै गाईको दूध नखोज्ने गरेको उनको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १६ लक्ष्मीपुरका रमेश गिरीले ५ वटा जर्सी गाई पालेका छन् । तर अहिले २ वटा गाईले नियमित दूध दिन्छन् । सधै बिहान जर्सीको दूध ल्याएर बजार आउने गिरीलाई दूध विकाउन भने निकै संघर्ष गर्नुपर्छ ।

‘बजारमा भैँसीको दूध सहजै किन्छन् तर जर्सी गाईको दूधतिर आँखा पनि लाउँदैनन्’, उनले भने । जर्सी गाईको दूध पहेँलो हुने भएकाले पनि बजारमा नकिन्ने गरेको उनको भनाइ छ । जर्सीको दूधको रङ पहेँलो हुन्छ’, उनले भने, ‘त्यही देखेर किन्न मान्दैनन् ।’

डेरी उद्योगले पनि राख्न नमान्ने गरेको भन्दै उनले धेरै ठाउँमा घुमेपछि मात्रै बिकाउने गरेको छ । नबिकेर फाल्ने अवस्था त छैन’, उनले भने, ‘तर डेरीले पनि राख्न मान्दैनन्, त्यही २० लिटर दूध बिकाउन बजारबजार घुम्नुपर्ने अवस्था छ ।’

योग गर्ने तथा शिक्षित व्यक्तिले गाईको दूध माग गर्ने गरेको भए पनि अधिकांशलाई चेतना नहुँदा गाईको दूध प्रयोग गर्न नमान्ने गरेको उनको भनाइ छ । शिक्षित व्यक्ति र योग गर्नेले नियमित जर्सी गाईको दूध मगाउनुहुन्छ’, उनले भने, ‘तर अधिकांशले गाईको दूध मनपराइदिनुहुन्न ।’

उनले पालेका ७ वटा जर्सी गाईमध्ये ३वटा गाईको करीब २५ लिटर दूध बिकाउन पनि निकै समस्या हुने गरेको छ । उनीहरु त केही उदाहरणमात्रै हुन् । यस्तै धेरै जर्सी गाईपालक किसानलाई आफूले उत्पादन गरेको दूध बिकाउन निकै कठिन हुने गरेको छ ।

पछिल्लो समय दाङमा गाईपालन गर्नेको सङ्ख्या बढे पनि उचित बजारीकरण नहुँदा समस्या हुने गरेको किसानको गुनासो छ । बजारमा आवश्यकताभन्दा बढी दूध उत्पादन हुने भएकाले गाईको दूध अलि कम बिक्री हुने गरेको तुलसीपुर उपमहानगर पशु सेवा प्राविधिक सुवास आचार्यले बताए ।
तुलसीपुरमा धेरै दूध भित्रिने भए पनि यहाँका डेरी उद्योगमा १ हजार लिटरभन्दा धेरै भण्डरण गर्नसक्ने क्षमता नभएकाले पनि समस्या हुने गरेको उनको भनाइ छ । ‘तुलसीपुरमा आउने सबै दूधलाई भण्डारण गरेर अन्य कुनै परिकार बनाएर बेच्ने खालको प्रणाली सुरु भएको छैन्’, प्राविधिक आचार्यले भने, ‘यहाँ दूध मात्रै बेच्ने चलनले गर्दा पनि यस्तो समस्या आएको हो ।’