सिकारीले सिध्याए कालिज

यतिबेला बागलुङका वनहरूमा साँझको समयमा शिकारीको लर्को देखिन्छ । घाम डुबेर गोधूलि साँझ शुरु भएसँगै शिकारीहरू वनको आसपासमा पुग्ने गर्छन् । घाम अस्ताएपछि बासस्थानको खोजीमा रहेको कालिजलाई पछ्याउँदै उसको बाससम्म पुग्ने शिकारीहरू देखिन थालेका छन् ।

विशेष गरेर बस्ती नजीकैका वनहरूमा पाइने कालिजको शिकार गर्ने क्रम बढेको हो । बास बस्ने समयमा चारो खोज्दै बाहिर निस्केका कालिजलाई पछ्याउँदै जाने र बास बसेको ठाउँमा पुगेर रात परेपछि शिकार गर्नेहरू देखिन थालेको बागलुङको मालिकाका टेक बहादुर कामीले बताए ।

बस्ती नजीकैका सामुदायिक वन र निजी वनहरूमा रहेका कालिजहरू मार्ने क्रम बढ्दै गएको छ । “पहिले पहिले हाम्रै आँगनमा कालिज खेल्थे,” कामीले भने – “आजभोलि छिटफुट बाहेक कालिजको बथान देख्न छोडिएको छ ।”

शिकारीहरूले घरेलु हतियार र गुलेलीको प्रयोग गरेर कालिज मार्ने गरेका छन् । सामुदायिक वन तथा स्थानीय सरकारले कालिजको संरक्षणमा ध्यान नदिएका कारण कालिज लोप हुने अवस्थामा पुगेको विज्ञहरू बताउँछन् ।

लोपोन्मुख पन्छी भएकाले कालिज संरक्षणको अभियान थाल्नुपर्ने कामीले बताए । साँझपख मोटरसाइकलमा आउने शिकारीहरू कहाँबाट आउँछन् र शिकार गरेर कता जान्छन् भन्ने विषयमा कसैले चासो राखेका छैनन् ।

मालिकाका टेकबहादुरलाई जस्तै जैमिनी नगरपालिका–१ कुश्मीशेराका भीमप्रसाद आचार्यलाई पनि कालिज हराउँदै गएकामा चिन्ता छ । नजीकै रहेका सामुदायिक वनहरूबाट आफ्नो खेतमा चर्न आउने गरेका कालिज आजभोलि निकै कम देखिन थालेको आचार्यको अनुभव छ ।

“हिउँद लागेपछि खाली भएको खेत भरि कालिज देखिन्थ्यो, आजभोलि एकाध मात्रै देख्न पाइन्छ,” आचार्यले भने – “साँझपख वन छेउछाउमा शिकारी देखिन थाले तर, कालिज हराउँदै गए ।” बथानमा देखिने कालिज एक–दुई वटा पनि देखिन मुश्किल हुँदै गएको छ ।

कालिज मानिसहरूले मासु खानकै लागि प्रयोग गर्ने गरेका छन् । यसको विशेष महत्व नरहेको भए पनि मासुको प्रयोगका लागि मानिसहरूले कालिजको शिकार गर्ने गरेको डिभिजन वन कार्यालय बागलुङका सहायक वन अधिकृत सूर्य देवकोटाले बताए ।

कालिजको बासस्थान कैयौं दिनसम्म एकै ठाउँमा हुने भएकाले शिकारीहरूलाई सहज हुन्छ । “कालिज सोझो खालको पन्छी हो, रातको समयमा उसको बस्ने ठाउँ एउटै हुन्छ,” देवकोटाले भने – “‘उसको दिसाबाट बस्ने ठाउँ पहिचान गर्न सकिने भएकाले शिकार बढेको हो ।

” बिना अनुमति वन्यजन्तु तथा पन्छीहरूको शिकार दण्डनीय अपराध भए पनि वन कार्यालयमा भने कुनै उजूरी परेका छैनन् ।

वन कार्यालयले पशुपन्छीको शिकार भैरहेको क्षेत्रमा गस्ती गरेर नियन्त्रण तथा संरक्षण गर्ने गरेको छ । “हामीकहाँ उजूरी आए हामीले तत्कालै गस्ती बढाउँछौं,” देवकोटाले भने – ‘बिना जानकारी कसैको पछि लाग्न मिलेन ।”