
ज्ञानेन्द्र शाहको जीवन अनौठो छ । उनी जीवनमा २ पटक राजा भए, दुवै पटक हटाइए । दुवै पटक अप्रत्यासित विपत्तिपछि उनको माथमा श्रीपेच आएको थियो । २००७ मा हजुरबुबा त्रिभुवन सपरिवार भारतको शरणमा जाँदा उनी संजोगले नेपालमै छुटे । नाबालक ज्ञानेन्द्र सञ्जोगले नै राजा बने । राजा वीरेन्द्रको परिवारसहित एकैपटक रहस्यमय तवरले वंशनाश भएपछि फेरि उनी सिंहासनमा पुगेका थिए ।
यी सञ्जोगी शाहलाई सोमबार पोखरामा केही मानिसले राजाकै रुपमा जयजयकार गरे । संविधानसभा निर्वाचनपछि राजदरबार छाडेर नागरिक बनेका शाहको लालसा अझै राजा हुने जस्तो देखिन्छ । पूर्व पञ्च, उनीबाट सहयोग लिने झुन्ड र केही राजावादीहरु उनलाई जहाँ गएपछि जयजयकार गर्न पुग्छन् । उनी त्यसैमा मख्ख छन् । दरबार छाडेर नागरिक बनेका उनले पटक पटक अहिलेको सरकार र देशको अवस्थाप्रति असन्तुष्टि जनाउने गरेका छन् ।
पोखरा विमानस्थलमा शाहको जयजयकारमात्र गरिएन, संघीयता र गणतन्त्र खारेजीको नारा पनि लाग्यो । संविधानको मर्मविपरीत संघीयता र गणतन्त्र खारेज गर्न माग गर्दा पनि सरकार र प्रशासन चूपचाप देखियो । गण्डकी प्रदेशको मुकाम पोखरामा रहेको मुख्यमन्त्र्रीको कार्यालय विमानस्थलबाट करिब डेढ किलोमिटरमा पर्छ । यस्ता गतिविधिलाई छुट दिँदा देशमा अराजकता निम्तिन सक्छ । जसले जे गरे पनि हुने अवस्था आउँछ । देशै नरहे, गणतन्त्रै नरहे, संघीयतै नरहे न ज्ञानेन्द्र शाहको नेपाली पहिचान रहन्छ, उनको उनको चाकरीमा लिप्त झुन्डको पहिचान ।
ज्ञानेन्द्र शाह बुद्ध एअरको विमानबाट पोखरा आएकै दिन सेनाले राष्ट्रपतिका लागि डेढ अर्बमा हेलिकोप्टर किनेको समाचारमा आएको छ । करिब १ महिनाअघि दशौं करोडमा गाडी किनिएको थियो । संघीयता धान्न कठिन देशमा जनप्रनिनिधिले चुनेकी राष्ट्रपतिले यस्तो आकांक्षा राख्नु हुँदैन । कर्मचारी वा अरु सहयोगीको पहलमा यसो भएको भए पनि उनले यसलाई रोक्नु पथ्र्याे ।
सेरेमोनियल राज्य प्रमुखलाई देशले धान्नै कठिन पर्ने गरी सुविधा दिनु कुनै अर्थमा जायज छैन । गणतन्त्र स्थापनापछिको १ दशकमा राष्ट्रपति र सरकारको निन्दा सुनिनु र पूर्वराजाको जयजयकार हुनु जनआक्रोशको प्रतिबिम्ब हो । देशको भविष्य र शासन व्यवस्थाका लागि यो अनिष्ठको सूचक हो । २०१७ सालमा शिशु प्रजातन्त्रको घाँटी रेटिएको थियो । फेरि संघीय लोकतान्त्रिक गणतन्त्र मासिने अवस्था सिर्जना नहोस् ।