डाक्टरहरूको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि अब हरेक पाँच वर्षमा उनीहरूको परीक्षा हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता वृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच–पाँच वर्षमा परीक्षा लिन लागेको हो ।
यसअघि एकपटक लाइसेन्स पाएपछि डाक्टर सधैँका लागि सेवामा योग्य हुने व्यवस्था थियो। तर, अब हरेक पाँच वर्षमा हुने परीक्षामा सय नम्बर ल्याएपछि मात्रै लाइसेन्स नवीकरण हुनेछ। सय नम्बर नल्याउने डाक्टरको लाइसेन्स नै खारेज हुनेछ।
‘यसअघि डाक्टरले एकपटक लाइसेन्स लिएपछि आजीवन दोहो-याएर हेर्ने परिपाटी थिएन,’ नेपाल मेडिकल काउन्सिलका सदस्य प्रा.डा. सुदीप आचार्यले भने, ‘अब समय अवधि नै तोकेर अपडेट गर्ने भएका छौँ ।
उनीहरूले तोकेको कोर्स पूरा गर्नैपर्छ, सय नम्बर ल्याउनैपर्छ। नभए लाइसेन्स खारेज हुन्छ। ९९ नम्बर ल्याए पनि बिरामी जाँच्ने अधिकार खोसिनेछ।’
पेसामा विकासको निरन्तरता (सिपिडी) कार्यक्रममार्फत काउन्सिलले डाक्टरहरूको परीक्षा लिनेछ। कार्यक्रममा सबै डाक्टरलाई सहभागी हुन बाध्यात्मक व्यवस्था बनाएको छ। काउन्सिलमा २२ हजारभन्दा बढी चिकित्सक दर्ता भएका छन् ।
उनीहरूले पूरा गर्नुपर्ने तालिम र कार्यक्रमका लागि नम्बर छुट्याइएको छ। तालिमको ३० र कार्यक्रमको ७० अंक राखिएको छ। कुन तालिम र कार्यक्रमको कति नम्बर दिने भन्ने मापदण्ड पनि काउन्सिलले बनाउनेछ।
पाँच वर्षको अवधिभित्र तोकिएको तालिम र कार्यक्रममा सहभागी भएर सय नम्बर प्राप्त गर्नुपर्छ। काउन्सिलले तोकेको तालिम र कार्यक्रममा सहभागी भएर पूरा अवधिभर बस्नैपर्ने बाध्यता डाक्टरहरूलाई हुने आचार्यले बताए । डाक्टरले लिखित परीक्षा भने दिनुपर्दैन।