खासमा कविता निम्न अवस्थामा बिग्रन्छ । यसो भनिरहँदा नेपाली परिवेश र नेपाली कविताको पछिल्लो समयखण्डलाई दिमागका राखिएको छ ।
१. कसैको भनाइ वा तर्कलाई नयाँ तरिकाले, नयाँ भाषा, शैली, बिम्ब वा अलङ्कार लगाएर लेख्दा कविता बिग्रन्छ ।
२. कसैको शैलीको सिको गरियो भने कविता बिग्रन्छ । आफूले बाँचेको समयभन्दा दशकौँअघि स्थापित शैलीको पुनरावृत्ति गर्ने चलन पनि छ, जो ठीक छैन । बद्लिँदो समयले बद्लिँदो शिल्प र कथ्यको माग गर्दछ ।
३. छन्दको हकमा, शास्त्रीय छन्दको सूत्रलाई सचेतताका साथ अनुकरण गरियो भने, कुनै खास छन्दमा लेखिएक सबै कविताको स्वरूप उस्तै हुन्छ । यस स्थितिमा कविता बचाउने कथ्यले हो । कथ्य कमजोर भयाो, अथवा उपकरण – गति, यति, लय, मात्रा, गण, उद्धरण, उपमा, यमक, अलङ्कार आदिको लेपनले कमजोर कथ्य छोपियो भने, कविता बिग्रन्छ ।
४. स्थापित सत्यलाई पुनः नयाँ शब्दावलीमा दोहो र्याइयो भने कविता बिग्रन्छ ।
५. अरुले धेरै प्रयोग गरिएका वाक्यांश प्रयोग गरियो भने कविता बासी लाग्न सक्छ । खुर्पे जून, इन्द्रेणी सपना, पसिनाको रङ्, आदि अचेल क्लिसे लाग्छन् ।
६. भन्नुपर्ने कुरो सीधा, अविधात्मक शैलीमा भनियो भने कविता बिग्रन्छ ।
७. कविले आफूलाई दूधले नुहाएजस्तो चोखो, तर अरुलाई सबै विकृतिको दोषी करार दिएर लेख्यो भने इमान्दारीको कमीका कारण कविता बिग्रन्छ ।
८. कविले वर्गको हकको कुरा लेखिरहँदा एकाङ्गी भयो, अथवा अर्को वर्ग सबै खराब, आफ्नो सबै सही भन्ने आशय प्रकट गर्यो भने कविता बिग्रन्छ ।
९. कविले निर्णय सुनाउने र उपदेश दिने काम धेरै ग¥यो भने कविता बिग्रन्छ ।
१०. कवितामा खस्रा व्यञ्जन वर्णको बाहुल्य भयो, र वीभत्स लाग्ने बिम्बको प्रयोग बढी गरियो भने कविता बिग्रन्छ ।
११. कविताका हरफलाई जोडेर टाइप गरेर पढ्दा कुनै प्रोजको अनुच्छेदजस्तो बन्छ भने बुझ्नुस् कविता बिग्रेको छ ।
१२. कवितामा कलामात्रै छ, कुरो छैन भने कवितामा प्राण छैन ।
१३. कवितामा कुरोमात्रै छ, कला छैन भने बुझ्नुहोस्, कविता नाङ्गो छ ।
१४. भाषिक त्रुटि अत्यधिक भयो भने दुइटा जोखिम हुन्छन् । पहिलो, निरन्तर देखिने त्रुटिका कारण दुईचार पल्ट पढेपछि पाठकले उक्त लेखकलाई ध्यान दिन छोड्छ । दोस्रो, भाषा कमजोर हुने कविहरू सम्पादकको बैशाखी टेकेर उभिएका हुन्छन् । जो आफैँ उभिन सक्दैनन्, के उभ्याउलान् कविता?
१५. एउटै कवितामा धेरैवटा कथ्य मिसाउन खोजियो भने कविता बिग्रन्छ ।
१६. एउटा समूहले लेखेका कविता एउटा डालीमा राख्नू, र घोलमाल पारेर निकालेर पढनू । कसको हो छुटिएन भने बुझ्दा हुन्छ, समूहको प्रभावले लेखकले निजत्व गुमाएको छ । यो कविता बिग्रनुको लक्षण हो ।
१७. तपाईंको कविता पाठकको कुनै वर्गप्रति लक्षित छ? छ भने, उक्त वर्गको भाषिक र कल्पनाक्षमता कति हो? त्योसँग तपाईंको कविताको भाषा र कुरा मेल खाएन भने, कविता बिग्रन्छ । तल्लो वर्गको चेतनाविस्तार भन्दै लेखिएका अधिकांश नेपाली कविता यस कारण दुघृटित छन् । बरु गीतले यो काम मज्जाले गरेको छ ।
सुरुमा कवि हुन, अथवा कविको रूपमा परिचित हुन कविता लेख्छन् कविहरू । पछि, आफूले विश्वासामु भन्नुपर्ने कुनै कुरो, दृष्टि अथवा अभिमतका लागि लेख्छन् । कसैसँग यस्तो नविन र मौलिक लाग्ने कथ्य, दृष्टि अथवा अभिमत छैन भने वनोविनोद र आत्मसन्तुष्टिबाहेक कविता लेख्नुको खास प्रयोजन पनि हुँदैन ।
source samalochak.com