
हिउँदे ठिही सुरु भएको छ । पोखरा उपत्यकामै यस्तो ठिही हुँदा हिमाली भेगको जीवन कस्तो होला ? मानिस र त्यहाँका जीवजन्तु कसरी बाच्छन् ? हिउँ कति जम्छ ?
पोखराबाट हिमाल हेर्ने धेरैले यस्तो सोच्छन् । तर, यसको उत्तर त्यति बेला भेट्दैनन् । यी र यस्ता हिमाल, हिमाली जनजीवन र पर्वतारोहणबारे यथेष्ट जानकारी हत्तपत्त पाइँदैन । हिमाल र पर्वतारोहणबारे जानकारी दिन र पर्यटन पर्वद्धन गर्न पोखरा १७ को अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा महोत्सव हुँदै छ ।
हिमाली क्षेत्रका समुदायको परम्परागत कला, संस्कृतिको जगेर्ना र खेल पर्यटन प्रर्वद्धनका लागि पोखरामा पाँचौ अन्तर्राष्ट्रिय पर्वतीय (ग्रेट हिमालन) महोत्सव २०१८ हुँदै छ । नेपाल पर्वतारोहण संघ(एनएमए)ले मंसिर २४,२५ र २६ गते ३ दिन महोत्सव गर्न लागेको हो ।
संघका अध्यक्ष सन्तवीर लामा यसले नेपालको समग्र पर्यटन प्रर्वद्धनका लागि सघाउने बताउँछन् । नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा हुने महोत्सवमा गुरुङ, मगर, राई, लिम्बु, शेर्पा, थकाली, तामाङ लगायतका जनजाति तथा समुदायको सांस्कृतिक नाँच देखाइने छ ।
महोत्सवमा खानाका परिकार, विज्ञान प्रविधि तथा सूचना केन्द्र र पर्यटकीय वस्तु समावेश गरिएका ४० स्टल रहने राखिनेछन् । स्टललाई आकर्षण गर्न भाडा नलिने आयोजकले जनाएको छ ।
महोत्सवमा एनएमए बैकुण्ठ मानन्धर हिमालयन म्याराथन प्रतियोगिता, एनएमए हिमालयन साइक्लिङ र एनएमए टोनी हेगन टुरिजम पेन्टिङ स्पर्धासमेत संघले गर्न लागेको छ । डिसेम्बर ११ तारिखमा महिलाको २३ किमी तथा पुरुषको ४५ किमीको अल्ट्रा रनिङ म्याराथन हुनेछ ।
यसमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमश १ लाख, ५० हजार र २५ हजार नगद दिइनेछ । टुरिजम पेन्टिङका लागि ५५ हजार रुपैयाँको पुरस्कारको व्यवस्था छ ।
मानिसलाई आकर्षित गर्न तारो हान्ने, छेलो हान्ने प्रतियोगिता पनि गर्ने जनाइएको छ । महोत्सव गर्न ८० लाख खर्च लाग्ने र ५० हजारले अवलोकन गर्ने महासचिव कुलबहादुर गुरुङले बताए ।
महोत्सवको मुख्य दिन डिसेम्बर ११ तारिखमा विश्व प्रसिद्ध हिमाल आराहीलाई सम्मान गरिनेछ । महोत्सवमा पर्वतारोहणसँग सम्बन्धित डकुमेन्ट्रीहरु प्रदर्शन र हिमाल र पर्वतारोहणबारे विमर्शसमेत हुने आयोजकले जनाएको छ ।