तीर्थयात्री महंगा होटलमा, मुक्तिनाथको धर्मशाला बन्द

हिन्दू धर्माबलम्बीको तीर्थयात्रा गर्ने ठाउँको सूचिमा मुक्तिनाथ छुट्दैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दर्शन गरेपछि यसको संसारभर थप प्रसार भयो ।

सडक यातायातको सहज पहुँचपछि सिन्डिकेट हटेको छ । पोखरा, राजधानी लगायत देशका मुख्य सहर सडकमार्गबाट मुस्ताङसँग जोडिएका छन् । बिदा मनाउन, फिल्म छायांकन गर्न, अचम्मको भूगोल नियाल्न अनेक उद्देश्यले यहाँ आउनेको संख्या बढिरहेको छ ।

पर्यटकीय सिजन र सोह्रश्राद्धका बेला मुस्ताङमा बास पाउन पनि मुस्किल पर्छ । सिमित होटलका कारण खाना र बास महंगो छँदै छ । मुक्तिनाथ नजिकै रहेको धर्मशाला पनि बन्द भएको छ ।

सिमित होटलका कारण खाना र बास महंगो छँदै छ । मुक्तिनाथ नजिकै रहेको धर्मशाला पनि बन्द भएको छ ।

आफ्नै मुलुकका पर्यटक मुक्तिनाथ दर्शनका लागि आउने क्रम बढेपछि भारतीय राजदुतावासले सन् २००९ मा रानीपौवा बसपार्कको पूर्वतर्फ धर्मशाला बनाएको हो । आरम्भमा प्रयोगमा आए पनि यो ६ वर्षदेखि बन्द छ ।

भारतीय दुतावासले मुक्तिनाथ विकास समिति र साविक जिल्ला विकास समितिबीचसम्झौता गरी भवन बनाएको हो । धर्मशाला बनेपछि साविक जिल्ला विकास समितिले टेन्डरमार्फत होटल सञ्चालनका लागि दिएका व्यक्तिले ३ वर्ष चलाएर छाडे ।

त्यसपछि धर्मशाला कसैले सञ्चालन गरेका छैनन् । यो धर्मशालामा २ करोड ५२ खर्च भएको छ । २०६९ मंसिर २९ गते धर्मशाला मुक्तिनाथ विकास समितिलाई हस्तान्तरण गरिएको थियो ।

वैधानिक ढंगले धर्मशाला गाउँपालिकालाई हस्तान्तरण भए सञ्चालन गर्न पालिका तयार

लामो समय धर्मशाला बन्द हुँदा पनि समितिले यो सञ्चालन गर्न सकेको छैन । यहाँ भएका भौतिक संरचनासमेत जीर्ण हँुदै गएका छन् । धर्मशाला प्रयोग विहीन रहनु मुक्तिनाथ विकास समितिको कमजोरी भएको जनप्रिय युवा क्लबका पूर्व अध्यक्ष सुरज गुरुङको भनाइ छ । धर्मशाला बेकार हुँदा फेरि आउन सक्ने सहयोगसमेत रोकिएको उनले औंल्याए ।

मुक्तिनाथ रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले वैधानिक ढंगले धर्मशाला गाउँपालिकालाई हस्तान्तरण भए सञ्चालन गर्न पालिका तयार रहेको बताए ।

मुस्ताङका सिडियो गंगाबहादुर क्षेत्री धर्मशाला सञ्चालन हुनैपर्ने बताउँछन् । शनिबार धर्मशाला अवलोकनपछि उनले सञ्चालनबारे चाडै निर्णय लिइने बताए । क्षेत्री भन्छ, ‘ विकास समितिले गर्छ । नसके गाउँपालिकालाई जिम्मा लगाइन्छ । तर धर्मशाला बन्द हुन दिइदैन ।’

मुक्तिनाथ विकास समितिको अध्यक्ष सिडियो हुने व्यवस्था छ । तर, ६ वर्षसम्म बन्दा हुँदा पनि यहाँ आउने सिडियोहरुले सञ्चालनको पहल गरेका छैनन् ।