यानीका भाकाहरु

हजुरबालाई देख्नै नपाई लगिहाल्यो दमले
बुवालाई नि बिना कसुर उछिट्यायो बमले
वंश विनाश गर्ने पालो फेरि विज्ञानकै हो
केही वर्षमा छोरालाई पनि लान्छ डट कमले ।

कहालीलाग्दो विगत, दुर्दान्त वर्तमान र चुनौतीपूर्ण भविष्यलाई चारै लाइनमा बुझाउनसक्ने यो भन्दा कलात्मक लेखाइ शायदै होला । आफूलाई लागेको रोगको उपचार त परै जाओस्, नामै थाहा नपाई भूलोकबाट बिदा भएका हाम्रा बाजेबराजुहरु धेरै छन् । युद्धसँग गोरु बेचेको साइनो पनि नभएका तर युद्धाको बज्रपातले ठहरै भएकाको सूची पनि निकै लामो बन्छ । गाउँघरमा भित्रिएको प्रविधिको यथोचित प्रयोग गर्न नसकेर हन्डर खाने, ठगिने र भविष्य वर्वाद पार्नेहरु पनि दिनदिनै थपिंदै छन् ।

यसरी तिनै काललाई एकै मुक्तकमा हृदयस्पर्शी र कलात्मक तवरले अटाउने यी मुक्तककार हुन् : सञ्जीव पौडेल ।

उनले पुस्तकको नाम दिएका छन् ः यानी । यानी प्रकाशन मुक्तक मञ्च पोखराले गरेको हो । मान्छे चिन्ने मुख्य तरिका अनुहार हो, कृति चिन्ने नाम । यानी शब्द पाखा पखेराको प्रिय लोकगीत यानीमायाबाट आएको हुनुपर्छ । लोकजीवनबाट नाम लिएर उनले कृतिको अनुहार बनाएका छन् । यो सग्लो कृतिका पाउ, जीउ, हात पनि जनजीवनसँगै गाँसिएका छन् ।

अर्र्काे अर्थमा, यानी शब्द पूर्वी भेगमा बाक्लै बोलिन्छ । यानीको सट्टामा यानेकिले पनि काम चलाइन्छ । यसले अर्थात्, वास्तवमा वा नबुझे बुझ्ने गरी सुन भन्ने अर्थ दिन्छ । पहिलो वसन्त विद्रोहपछि नेपाली माटोले झेलेका अनेक रस कृतिमा छन् । सञ्जीवका मुक्तक समयको यो खण्ड यानेकी यो माटोमा घटित उतरचढावका कलात्मक परिणाम हुन् ।

लोकजीवनबाट नाम लिएर उनले कृतिको अनुहार बनाएका छन् । यो सग्लो कृतिका पाउ, जीउ, हात पनि जनजीवनसँगै गाँसिएका छन् ।

उनी मुक्तकमात्रै लेख्दैनन्, गजल, गीत, कविता र कथामा समेत क्रियाशील छन् । उनी २०६५ मा स्थापना भएर नेपाली मुक्तकको नेतृत्व गरिरहेको मुक्तक मञ्च पोखराका पूर्व अध्यक्ष पनि हुन् । सञ्जीवका मुक्तकबारे सरुभक्त लेख्छन्, उनको मुक्तकीय धरातल मानवीय प्रेम, समाज र देशलाई अर्थबोध गर्ने पत्रे चटानहरुले बनेका छन् । कति चटान बलिया लाग्लान्, कति कमजोर । तर व्यंग्य र विसंगति उनका स्वभाव बनेका छन् । समाज सुव्यस्थित छैन, अराजकै पनि छैन । उनी स्खलित हुँदै गएको मानवता र सामाजिक भावना दरिलो बनाउनुपर्ने पक्षमा छन् । मुक्तककार पौडेल लोकतन्त्रका नाममा मौलाएका विकृति र परम्परागत रुपमा चलिआएका कुसंस्कारलाई अर्जुन वाँण दाग्छन् :

मौलिक संस्कृति, भाषा अनि भेष बेचिदिन्छन्
पुर्खाको गर्विलो इतिहासको अवशेष बेचिदिन्छन्
आऊ धूमधाम पूजा गरौं हाम्रा व्यापारीहरुलाई
जो मोलतोल गरी गरी आमा र देश बेचिदिन्छन्

खै किन हो मान्छेकै बास खोस्छ मान्छे
आफू अघाएनि भोकाको गाँस खोस्छ मान्छे
सम्पत्तिले यति सारो जरा गाड्यो समाजमा कि
पैसा पाए चिताबाटै लास खोस्छ मान्छे ।

सञ्जीवका मुक्तकको केन्द्रमा मान्छे छ, मान्छेको संवेदना छ, संवेदनाभित्रको पनि कारुणिक र बदल्नै नसकिएको कथा छ । भलै, अन्य विषयवस्तु पनि उनका मुक्तकमा आएकै छन् । मानिस मानिस बीचमा अनेक नाता थिए, छन्, हुनसक्ने सम्भावना पनि छन् । यीनै सम्बन्धको जालो नै हो समाज, देश अझ भनौं विश्व । यीमध्ये आधारभूत र सधै अपेक्षित नाता हो मानवता । यही मानवता कमजोर भएर क्रयविक्रममा राखिने त होइन भन्ने चिन्ताले उनलाई सताएको छ ।

अगि बढ्न खोज्दा खुटा तानेर लोप्पा खुवाउँछन्
पलपल यसै गर्छन् र धरधरी रुवाउँछन्
सावधान सबको नियति उही हो शत्रु नजिकिनु
मित्र हुँदै लास पार्छन् र लासमा आँसु चुहाउँछन् ।

चुनावी समयमा बबुरो पनि बालिग बन्छ
चुनाव जित्नेचाहिँ रातारात मालिक बन्छ
सच्चा राष्टभक्त बलिदान गर्छ देशका लागि
परिवार विचल्लीमा पार्छ र चोकमा शालिक बन्छ ।

१ वर्षमै ३ वटा चुनावमा मत हाले नेपालीले । यो चुनाव हुनुभन्दा अघिको प्रशव पीडा छ उनको पुस्तकमा । पैसा र दादागिरीको आडमा हुने चुनाव, नाकाबन्दीमा नेपालीबीच देखिएको अभूतपूर्व राष्टवाद र एकता मुक्तकमा अटाएको छ । संविधान त दिल्लीमा टाइप हुँदै छ रे भनी उनले संविधान निर्माण र देशका ठूला घटना क्रममा विदेशीले चलखेल र हस्तक्षेप गर्ने गरेको उद्घाटित गरेका छन् । दशकैपिच्छे हुने आन्दोलन र आन्दोलनपछि शालिक बनाएर गरिने राजनीतिक दाउपेचको विपक्षमा छन् उनी । कुनै अभियोगमा अपराधी र सज्जनसँगै जेल परे अपराधी चाडै छुट्ने गरेको देखिन्छ । प्रहरी, प्रशासन र न्यायालयले कुन सूत्र पत्ता लगाएर सो सूत्र बमोजिम अपराधीलाई छाड्छ, सज्जन नागरिकले सोधखोज गर्नैपर्छ ।

हजारौं मिलेर एउटालाई मालिक किन बनाउनु
संशोधन गर्दै गर्दै बेठिकलाई ठिक किन बनाउनु
आफैंले बनाएर इतिहासका पाना रंग्याइसकेपछि
आफैंले ढाल्ने हो भने सालिक किन बनाउनु ?

जुटाउन हम्मेहम्मे पर्छ छाक टार्ने मानो
कुनै वर्ष टाल्न सक्तैनन् पानी चुहिने छानो
आफूले पालेको कुकुरले आफैंलाई टोक्दो रैछ रत
भोट पाउने नेता खुकुरी बन्छन् जनता अचानो ।

जीवनको राजमार्गमा दौडिइरहेका सञ्जीवको ज्यानले जम्माजम्मी ३० जतिमात्रै वसन्त व्यहोरेको छ । यो युवा वयका वसन्तमा कति विरुवामा पालुवा लागे हुनन्, कति कति चिउलैमा लाछिएहुनन्, केही बढे पनि होलान् । यी लक्का जवानको युवावस्था पनि युवावस्थाका कयौं संवेदनाले भरिएकै छ । उनी कतै अति भावुक छन्, कतै यथार्थवादी, कतै आशावादी, कतै निराशावादी । यसलाई उनको कमजोरी भन्न मिल्दैन । जसरी पक्ष जीवनकै अभिन्न भाग हुन्, ती अभिन्न अवयवलाई मुक्तकका ल्याउनु उनको सामथ्र्य नै ठहरिन्छ ।

पानी नपर्ने बादल जस्तो
खरी झरेको मादल जस्तो
सुन्छौ मेरो जिन्दगी कस्तो
परेली बेगरको गाजल जस्तो

मन्दिरमा के हुन्छ र गजुरभन्दा माथि
सौन्दर्य कुन चराको छ मजुभन्दा माथि
मेरो मनले सधैंभरि खोजिरह्यो उसैगरि
अहँ, कही कोही भेटिएन हजुरभन्दा माथि

कहिले हड्डी पोल्ने घाम कहिले चिसो पानी
एकछिन अघि सग्लो फेरि पलभरमै खरानी
छिनछिनमा नवीन नवीन चमत्कार गर्छ
चटकेको चटकजस्तै हाम्रो जीन्दगानी

मुक्तक पनि खेलजस्तै हो । फुटबल जस्तो । बल अघि बढाउने, पास दिन्््े, पास मिलाउने, गोल गर्ने जस्तै । यो खेलमा उनी सधै अब्बल देखिएका छैनन् । कतै पास मिलाउन सकेका छैनन् भने कतै गोल गर्न चुकेका छन् । मुक्तकको पहिलो पंक्तिले विषयवस्तुको उठान, दोस्रोले विस्तार, तेस्रोमा चमत्कारिक भाव र चौथोमा यादगार समापन हुनुपर्ने मुक्तकको सिद्धान्तसँग उनी भलीभाँती जानकारै छन् । तथापि कतै उनको प्रहार फितलो देखिन्छ भने कतै अनुप्रास मिलाउनकै लागि शब्दहरुलाई गिजोलिएको छ । यो अवगुण उनले विस्तारै घटाउनै पर्छ ।

मनपर्ने चिज आफूसँगै लान नसकिने
मीठो पाइयो भनी जम्मै खान नसकिने
चुडिएको चंगाजस्तै रहर ओइलिँदा नि
समयको विरुद्धमा जान नसकिने ।

तिमी हाँसिरहे यहाँ चिन्ता हुँदैनथ्यो
त्यो ओठ मुस्कुराइरहे यो मन रुदैनथ्यो
नजिक भयौं एक अर्कामा र त यस्तो भयो
नत्र कुनै भावनाले हामीलाई छुँदैनथ्यो

कतै अनुप्रासको खोजमा लएर, गएर, भएर मिलाउन खोजेका छन् भने कतै रुनु, छुनु, फुनुजस्ता शब्द प्रयोग गरी मुक्तक मार्गबाट चिप्लिएका छन् । दिल पास्न (पेज ६४) मा प्रयोग भएको पास्न शब्द नै हुँदैन । यस्तै पेज २१ को मुक्तकको एक पंक्ति हो ः त्यही मन ज्योति शंकाको बिउ राख्यौं तिमीले । मन जोती कि ज्योति ? भाषिक कमजोरी यसरी देखिनुको कारण हो ः सम्पादन नहुनु ।

सञ्जीवको साहित्य यात्रा सबल बन्न सक्ने धेरै करण विद्यमान छन् । उनी साहित्य सिद्धान्त पढेर आएका हुन्, साहित्य कर्ममा दशकौं बिताएका अग्रज र समकालीनको साथ अन्तक्र्रियात्मक साथ छ उनीसँग । नेपाली र विश्वकै साहित्य, दर्शन र नयाँ आविष्कार जान्न उनलाई उति कठिन छैन । लेख्नेबित्तिकै हजारौं शुभच्छुकसम्म पुग्नसक्ने सामाजिक सञ्जाल छन् । म याद र कहानी बोकेर होइन, पूरापूर विश्वासका साथ उनका भावी ओजपूर्ण कृतिलाई पर्खिइहेको छु । जसरी मुक्तककार पर्खिइरहेका छन् कुनै हसिनालाई ।

ऊ आएकी थिई काखीको गाग्रीमा पानी बोकेर
गाग्रीमा पानी बोकेर पानी झैं जवानी बोकेर
अमिट छ अझै त्यो मुस्कान पहरामा नाम खोपे झैं
अझै म मुस्कुराइरहेछु तिनै याद र कहानी बोकेर ।