आभास

हे, पहाड !
तिम्रा नयनहरुबाट
बगेका छहराहरुले
प्रचण्ड गर्मीमा
मेरा अंग अंग चुमिदिदा
म प्रेमले निथ्रुक्क भिजिदिन्छु !

जब तिम्रा काखहरुमा
सजिएका पल्लवी बोटहरुमा
उहि बालापनको चन्चलता पाउँछु
अनि म शीतलताको लोभले
प्रत्यक बोटको छहारीमा
आफूलाई बिसाउँछु !
तिम्रा कन्दरा खोचहरुमा
भरिएका हरिया दुबोहरुमाथि
आफ्ना पैताला कुदाउँछु !
खुलेको क्षितिज भरि सल्बलाउने
बादलका जन्तहरुले
जब जब मलाई हेरेको भान हुन्छ
तिम्रो सिंगो आकृति
यो दिलमा बोकेर
आँखाको ढकनी बन्द गरि
ओठका दुई ध्रुव
भेटिदै छुटिदै गरेको तस्बिर
मुटुको भित्ताभर कैद हुन्छन्
केवल, तिमी हुनुको आभासले !